इटहरी । कोशी प्रदेशको चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्दै स्थानीय चलचित्रकर्मीका सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित धरानमा पहिलोपटक ‘धरान फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ ।

बीपीफोर इन्टरटेन्मेन्टको आयोजनामा आगामी मंसिर २७ र २८ गते सञ्चालन हुने महोत्सवका लागि आयोजकले चलचित्र सहभागिताको आवेदन खुला गरेको छ । मंसिर १ गतेदेखि अनलाइन आवेदन प्रक्रिया सुरु गरिएको आयोजक संस्थाका सञ्चालक एवं महोत्सव निर्देशक विनोद विश्वकर्माले जानकारी दिएका छन् ।

महोत्सवमा सहभागी हुन चाहने निर्माता तथा निर्देशकले फिचर फिल्म, छोटा चलचित्र र डकुमेन्ट्रीलगायत विभिन्न विधाका चलचित्र पठाउन सक्नेछन् । प्राप्त आवेदनमध्ये छनोट भएका चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिनेछ । आवेदन दिने अन्तिम मिति मंसिर १० गते निर्धारण गरिएको छ ।

WhatsApp Image 2026-11-17 at 9.54.24 PM

आयोजकका अनुसार चलचित्र पठाउन इच्छुकले महोत्सवको आधिकारिक वेबसाइट www.dharanfilmfestival.org, आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड तथा इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

महोत्सव चलचित्र प्रदर्शनमा मात्रै सीमित रहने छैन । चलचित्र क्षेत्रको ज्ञान, अनुभव र सम्भावनालाई उजागर गर्ने उद्देश्यले विभिन्न सिर्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत समावेश गरिनेछ । जसअन्तर्गत चलचित्रसम्बन्धी वर्कशप तथा मास्टरक्लास, चलचित्र पत्रकार र कलाकारबीच अन्तरक्रिया, चलचित्र पर्यटनसम्बन्धी प्यानल छलफल र विशेष चलचित्र प्रदर्शन हुनेछन् ।

त्यसैगरी चलचित्र क्षेत्र तथा विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने र सांस्कृतिक प्रदर्शनी आयोजना गर्ने कार्यक्रमसमेत रहेको निर्देशक विश्वकर्माले बताएका छन् ।

WhatsApp Image 2026-11-17 at 9.54.10 PM

महोत्सवमा कोशी प्रदेशका विभिन्न ब्युटिसियन प्रतियोगिताबाट आएका मोडल तथा ब्युटिसियन र सेलिब्रेटीबीच अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवका अन्य कार्यक्रम तथा विभिन्न विधामा सहभागी हुन चाहनेका लागि आवश्यक दर्ता फारामसमेत आधिकारिक वेबसाइट र इभेन्टलयमार्फत उपलब्ध गराइनेछ ।

धरानमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवलाई कोशी प्रदेशको चलचित्र सिर्जना, प्रतिभा र सांस्कृतिक पहिचानलाई एउटै मञ्चमा जोड्ने अवसरका रूपमा हेरिएको छ ।