इटहरी । रामधुनी नगरपालिकाले लिएको ‘सहायक कम्प्युटर अपरेटर’ पदको लिखित परीक्षाको नतिजालाई लिएर प्रश्न उठेको छ। रामधुनीका बुद्धिजीवी भीम लुइटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत परीक्षा निष्पक्ष नभएको आशंका व्यक्त गर्दै योग्यताका आधारमा उम्मेदवार छनोट गर्न माग गरेका छन्।

लुइटेलले लिखित परीक्षामा नाम निकालिएका १० जनामध्ये ४ जना व्यक्तिको छनोटलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। उनले आवश्यक परे ती व्यक्तिहरूको नामसमेत सार्वजनिक गर्न सकिने दाबी गर्दै रामधुनीमा ‘जान्नेलाई छान्ने होइन, आफ्नालाई छान्ने प्रवृत्ति’ कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरेका छन्।

उनले परीक्षार्थी, सुशासनका पक्षधर तथा न्यायका लागि आवाज उठाउँदै आएका रामधुनीवासीलाई नगरपालिकाको गेट अगाडि उपस्थित हुन अपिलसमेत गरेका छन्।

11

यसैबीच, रामधुनी नगरपालिकाले सहायक कम्प्युटर अपरेटर पदका लागि तोकिएको प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षा स्थगित गरेको आधिकारिक सूचना सार्वजनिक गरेको छ। नगरपालिकाको सूचनाअनुसार लिखित परीक्षाबाट उत्तीर्ण उम्मेदवारहरूको प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षा तोकिएको मितिमा सञ्चालन हुने भनिए पनि कर्मचारी पदपूर्ति गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको हो।

लुइटेलले नगरपालिकाले आफूहरूसँग भएको सहमतिको विषयलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले भोलि बिहान १० बजेसम्म आफूहरूले उठाएका विषयमा सुधार नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

IMG_9134


‘राम्रालाई छोडेर हाम्रालाई छान्दाको परिणाम हो यो,’ लुइटेलले फेसबुकमा लेखेका छन्, ‘गलत गरेकै हो, सुधारेर लैजाऊ भन्न पनि झगडा गर्नुपर्ने कस्तो दुर्भाग्य?’

परीक्षा प्रक्रिया र नतिजाबारे उठेका आरोपका सम्बन्धमा रामधुनी नगरपालिकाको आधिकारिक धारणा भने सार्वजनिक रूपमा स्पष्ट हुन बाँकी छ। आरोप पुष्टि नभएसम्म नातावाद वा कृपावाद भएको निष्कर्षमा पुग्न नसकिने भएकाले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र स्पष्ट जवाफ आउनुपर्ने देखिन्छ।