इटहरी । तरहरास्थित पूर्वाञ्चल सेकेन्डरी स्कुलले स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ को चौथो संस्करणको उपाधि जितेको छ।

All Sports Collection को आयोजनामा इटहरी–५ स्थित काव्यबाटिकाको पाथीभरा फुटसल प्रालिमा सम्पन्न दुईदिने प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ आमनेसामने भएका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो। टाइब्रेकरमा पूर्वाञ्चलले सयपत्रीलाई ३–२ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।

प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोली सहभागी थिए। विद्यालयस्तरबाट फुटसल खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता चौथो संस्करणसम्म आइपुगेको आयोजकले जनाएको छ।

WhatsApp Image 2026-08-24 at 10.19.36 PM-2

उपाधि विजेता पूर्वाञ्चलका युनिस मगर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले रु. ३० हजार बराबरको छात्रवृत्तिसहित अवार्ड प्राप्त गरे। युनिस नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बने। उत्कृष्ट गोलरक्षकको पुरस्कार भने पूर्वाञ्चलका मुइक भुजेलले पाए। दुवैलाई रु. २ हजार ५ सयसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

फाइनलमा सयपत्रीका प्रवत राई म्यान अफ द म्याच घोषित भए। उनले रु. १ हजार पुरस्कार पाए। हाम्रो इङ्लिस बोर्डिङ स्कुलले फेयर प्ले टिमको उपाधिसहित रु. ३ हजार पुरस्कार प्राप्त गर्दा हिमशिखर एङ्लिस स्कुलका केशब लिम्बू राइजिङ प्लेयर घोषित हुँदै रु. २ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

WhatsApp Image 2026-08-24 at 10.19.59 PM

समापन समारोहमा इटहरी उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिवस पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम All Sports Collection का अध्यक्ष विमल मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

सोही अवसरमा फुटसल तथा विद्यालयस्तरीय खेलकुदको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रशिक्षक विमल मगरलाई सम्मान गरिएको थियो। मगरले सन् २०१६ मा च्यासल युथ क्लब, ललितपुरलाई शहीद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनाउन भूमिका निर्वाह गरेका थिए। एएफसी लाइसेन्स–२०१७ प्राप्त गरेका मगरले राष्ट्रिय लिग–२०८२ मा फ्रेन्ड्स क्लब, ललितपुरको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी लामो समयदेखि राष्ट्रिय जागृति क्लब इटहरीसँग प्रशिक्षकका रूपमा आबद्ध रहँदै आएका छन्।

अन्तरविद्यालय ७–ए साइड फुटसल प्रतियोगितालाई लगातार चौथो संस्करणसम्म सञ्चालन गर्न योगदान पुर्‍याएको भन्दै मगरलाई सम्मान गरिएको आयोजकको भनाइ छ।

प्रतियोगितालाई आगामी वर्ष अझ व्यापक बनाउँदै थप विद्यालय र खेलाडीलाई सहभागी गराउने अध्यक्ष मगरले बताए। विद्यालय तहबाटै प्रतिभावान फुटसल खेलाडी उत्पादन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

WhatsApp Image 2026-08-24 at 10.19.59 PM-2

यसैबीच, All Sports Collection ले राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि रु. १५ हजार आर्थिक सहयोगसमेत प्रदान गरेको छ। प्रतियोगिताका क्रममा प्रदान गरिएको उक्त सहयोगले खेलाडीप्रतिको सामाजिक उत्तरदायित्वसमेत देखाएको आयोजकले जनाएको छ।