इटहरी । विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको Late Buddharani Chemjong Limbu Memorial 7-A Side Inter School Futsal Tournament–2083 इटहरीमा सुरु भएको छ।
बालबालिकाको खेलकुद क्षमता अभिवृद्धि, स्वास्थ्य प्रवर्द्धन तथा ग्रासरुट तहबाट फुटबल प्रतिभा उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताको आइतबार उद्घाटन गरिएको हो।
All Sports Collection का अध्यक्ष विमल मगरको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको थियो।
इटहरी–५ स्थित पाथीभरा फुटसलमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्लाका ३२ वटा विद्यालय सहभागी छन्। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि घोषले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले ग्रासरुट फुटबलको आधार निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। विद्यालय तहबाटै बालबालिकाको खेल प्रतिभा पहिचान गरी उचित अवसर र प्रशिक्षण उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए। कोशी प्रदेश खेलकुद विकास बोर्डले समेत ग्रासरुट खेलकुदलाई प्राथमिकतामा राख्दै अघि बढ्ने उनको भनाइ थियो।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि हिमशिखर स्कुलले जितेको थियो। आयोजकका अनुसार यसपटक सहभागी विद्यालयबीचको प्रतिस्पर्धामार्फत नयाँ खेल प्रतिभा पहिचान गर्नुका साथै विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ, फेयर प्ले टिमलाई ३ हजार रुपैयाँ तथा राइजिङ प्लेयरलाई २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने All Sports Collection का अध्यक्ष विमल मगरले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहका बालबालिकालाई खेलकुदमा सक्रिय बनाउँदै उनीहरूभित्र लुकेको प्रतिभालाई पहिचान गरी अघि बढ्ने अवसर प्रदान गर्नु हो।




















