इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको माहोल तातिँदै जाँदा इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृह का सञ्चालक तथा सदस्य (वाणिज्य) पदका उम्मेदवार हर्क बहादुर विक चुनावी अभियानमा सक्रिय रूपमा जुटेका छन्।
लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएका विकले उद्योग वाणिज्य संघमा व्यवसायीको वास्तविक आवाज उठाउने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन्। दैनिक रूपमा व्यवसाय सञ्चालन गर्दा व्यवसायीहरूले भोगिरहेका समस्या, बजारको चुनौती, आर्थिक मन्दी र नीतिगत जटिलतालाई नजिकबाट बुझेको अनुभवलाई संघमार्फत समाधानको पहल गर्ने उनको प्रतिबद्धता छ।
विकले व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर काम गर्ने, साना तथा मझौला व्यवसायीका समस्यालाई प्राथमिकताका साथ उठाउने तथा उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने लक्ष्य लिएको बताएका छन्।
निर्वाचन प्रचारका क्रममा उनले विभिन्न बजार क्षेत्रका व्यवसायीहरूसँग भेटघाट गर्दै आफ्नो योजना सार्वजनिक गरिरहेका छन्। व्यवसायीहरूसँगको छलफलमा बजारको सुस्त कारोबार, लगानीको असुरक्षा, व्यवसायमैत्री वातावरणको आवश्यकता तथा निजी क्षेत्रका समस्याबारे व्यापक रूपमा कुराकानी भइरहेको उनले बताएका छन्।
यसैबीच अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारी र सदस्य (वाणिज्य) पदका उम्मेदवार हर्क बहादुर विकको संयुक्त चुनावी अभियान पनि तीव्र बनेको छ। उनीहरूले व्यवसायीहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै इटहरीका विभिन्न व्यापारिक क्षेत्र र पसलहरूमा पुगेर मतदाता भेटघाटलाई निरन्तरता दिएका छन्।
इटहरी–६ मा रहेको न्यु ओम साइ गहना गृह स्थानीय स्तरमा सुनचाँदी तथा गहनाको बिक्री–वितरण गर्दै आएको परिचित व्यवसायिक प्रतिष्ठान हो।



















