काठमाडौं । बेल्जियमले सहआयोजक अमेरिका माथि प्रभावशाली प्रदर्शन गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सियाटलमा मंगलबार बिहान सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा बेल्जियमले घरेलु टोली अमेरिकालाई ४–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र गोल गरे।

खेलको नवौं मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ३१औं मिनेटमा टिलम्यानले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै अमेरिकालाई खेलमा फर्काए। तर त्यसको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा पनि बेल्जियमले आफ्नो लय कायम राख्यो। ५७औं मिनेटमा हान्स भानकेनले गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए। इन्जुरी समयको अन्त्यतिर रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियमले ४–१ को सहज जित हात पार्यो।

यस जितसँगै बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम २०२२ संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो। यसपटक टोलीले पुनः उपाधि यात्रालाई मजबुत बनाएको छ। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि बलियो प्रतिद्वन्द्वी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यता घरेलु समर्थकको साथ पाएको अमेरिका भने २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो।