इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचन यतिबेला चुनावी सरगर्मीले तातेको छ। संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी र साझा प्यानलका उम्मेदवार नवराज काफ्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। संघमा २ हजार ३ सय ६५ जना मतदाता सदस्य रहेका छन्, जसले नयाँ नेतृत्व चयन गर्नेछन्।
निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन्। ११ सदस्यीय चुनावी टोलीसहित उनी इटहरीका विभिन्न बजार क्षेत्रमा पुगेर व्यापारी तथा उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै मत मागिरहेकी छन्।
घरदैलो अभियानका क्रममा भण्डारीले व्यवसायीका समस्या, चुनौती र अपेक्षाबारे जानकारी लिँदै आफू निर्वाचित भए उद्योग वाणिज्य संघलाई सम्पूर्ण व्यवसायीको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरिरहेकी छन्। उनले व्यवसायीका हकहित, व्यवसायमैत्री वातावरण, पारदर्शी नेतृत्व र निजी क्षेत्रका मुद्दामा सशक्त आवाज उठाउने आफ्नो प्राथमिकता रहेको बताउँदै आएकी छन्।
भेटघाटका क्रममा धेरै व्यवसायीहरूले अहिलेको अवस्थामा उद्योग वाणिज्य संघमा वास्तविक रूपमा व्यवसायीको हकहितका लागि काम गर्ने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले आर्थिक मन्दी, सुस्त बजार, बैंकिङ क्षेत्रका चुनौती, कर प्रणाली, लगानीको असुरक्षा तथा सरकारी नीतिका कारण व्यवसाय सञ्चालन कठिन बन्दै गएको भन्दै व्यवसायीको पक्षमा स्पष्ट रूपमा उभिने नेतृत्वको आवश्यकता रहेको बताएका छन्।
एक व्यवसायीले भने, “हामीलाई चुनावका बेला मात्र आउने होइन, समस्या पर्दा सबैभन्दा अगाडि उभिने नेतृत्व चाहिएको छ।” अर्का व्यापारीले संघले साना तथा मझौला व्यवसायीका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
यसपटकको निर्वाचनलाई व्यवसायीहरूले केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई उद्योग वाणिज्य संघको भावी दिशा तय गर्ने अवसरका रूपमा पनि हेरिरहेका छन्।
यसैबीच, उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यसपटक विगतको तुलनामा अझ बढी राजनीतिक रूपमा चर्चामा आएको छ। उद्योग वाणिज्य संघभित्रको राजनीतिक ध्रुवीकरण अन्त्य गर्ने उद्देश्यसहित एमाले र नेपाली कांग्रेस निकट व्यवसायीहरूले नवराज काफ्लेको नेतृत्वमा सहमतिको साझा प्यानल बनाउने प्रयास गरेका थिए। तर नेतृत्वको आकांक्षा राख्ने सबै पक्षबीच सहमति हुन नसकेपछि नेपाली कांग्रेस निकट नेतृ गायत्री कटुवाल भण्डारी अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिइन्।
हाल भण्डारीलाई नेपाली कांग्रेस समर्थित एक समूहका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित व्यवसायीहरूको समेत समर्थन रहेको बताइन्छ। अर्कोतर्फ एमाले र कांग्रेस निकट व्यवसायीहरूको साझा प्यानलको नेतृत्व नवराज काफ्लेले गरिरहेका छन्।
अघिल्ला निर्वाचनहरूमा एमाले र कांग्रेस समर्थित व्यवसायी दुई छुट्टाछुट्टै धारमा प्रतिस्पर्धा गर्ने गरेका थिए। तर यसपटक दुवै पक्ष एउटै प्यानलमा उभिएपछि राजनीतिक समीकरण फेरिएको छ। त्यसको प्रत्यक्ष प्रभाव निर्वाचनमा देखिएको छ भने विभिन्न राजनीतिक दलसँग आबद्ध व्यवसायीहरू आ–आफ्नो पक्षमा खुलेर लागेका कारण निर्वाचन प्रतिष्ठाको लडाइँका रूपमा समेत हेरिएको छ।
चुनाव जित्ने विषयमा दुवै उम्मेदवारले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्। गायत्री कटुवाल भण्डारीले आफू इटहरीमै जन्मेर हुर्किएको, अघिल्लो निर्वाचनमा पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै यसपटक महिला नेतृत्व स्थापित गर्ने अवसर दिन व्यवसायीसँग आग्रह गरिरहेकी छन्। उनले उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व स्थापित हुने सम्भावना रहेको भन्दै व्यवसायीको विश्वास जित्ने दाबी गरेकी छन्।
उता नवराज काफ्लेले भने राजनीतिक विभाजन अन्त्य गरी साझा नेतृत्व निर्माणका लागि आफू अघि बढेको बताएका छन्। संघमा सदस्यका रूपमा रहँदा महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभव, कृषि, पर्यटन तथा विभिन्न व्यवसायिक क्षेत्रमा लामो संलग्नता रहेको उल्लेख गर्दै उनले आफ्नो अनुभव नै जितको आधार हुने दाबी गरेका छन्।




















