काठमाडौं । बजारमा ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजारमा अनुगमन तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सार्वजनिक बिदाका दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
औषधि व्यवस्था विभागका अनुसार महाराजगञ्ज, वीर अस्पताल, चाबहिल, पाटन, जावलाखेल, बसपार्क–बालाजु तथा बनेपा क्षेत्रमा सञ्चालनमा रहेका ६६ वटा फार्मेसीमा निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामका २१ थान नक्कली औषधि बरामद गरिएको विभागले जनाएको छ।
विभागका अनुसार नक्कली औषधि फेला परेको उक्त फार्मेसीलाई तत्कालका लागि बन्द गरिएको छ भने औषधिको स्रोत, आपूर्ति सञ्जाल र संलग्न व्यक्ति तथा संस्थाको पहिचान गरी थप अनुसन्धान अघि बढाइएको छ।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका १५ भन्दा बढी फार्मेसी पनि कारबाहीको दायरामा परेका छन्। नवीकरण नगरी सञ्चालन भएका, म्याद नाघेका औषधि बिक्री गरिरहेका, दर्ताप्राप्त फर्मासिस्टबिना औषधि वितरण गरेका तथा सरसफाइ र नियामकीय मापदण्ड पालना नगरेका फार्मेसीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजारमा उपस्थित हुन निर्देशन दिइएको छ।
मन्त्रालयले बजारमा गुणस्तरीय र सुरक्षित औषधिको उपलब्धता सुनिश्चित गर्न आगामी केही दिनसम्म अनुगमन अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, अवैध औषधि कारोबारमा संलग्न व्यक्ति, संस्था तथा उत्पादकलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
औषधि व्यवस्था विभागले सर्वसाधारणलाई औषधि खरिद गर्दा दर्ताप्राप्त तथा आधिकारिक फार्मेसीबाट मात्रै खरिद गर्न आग्रह गरेको छ। औषधिको गुणस्तर वा मौलिकताबारे कुनै शंका लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन पनि विभागले अनुरोध गरेको छ।




















