इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचन–२०८३ मा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले यतिबेला व्यवसायी समुदायबीच चर्चित उम्मेदवारका रूपमा उभिएका छन्। “व्यावसायिक समृद्धिका सूत्रधार, आजको भरोसा भोलिको आधार” भन्ने नारासहित चुनावी प्रतिस्पर्धामा होमिएका काफ्लेले व्यवसायीमैत्री वातावरण निर्माण, डिजिटल सेवा विस्तार, लगानी संरक्षण तथा इटहरीको व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तीन दशकभन्दा बढी समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय काफ्ले उद्योग वाणिज्य संघ इटहरीमा लगातार तीन कार्यकाल निर्वाचित सदस्यका रूपमा काम गरिसकेका व्यक्ति हुन्। संघको भवन निर्माण समितिको कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै उनले संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्छ।
सुनसरीको प्रकाशपुरमा जन्मिएका काफ्ले बाल्यकालदेखि नै इटहरीमा हुर्किएका हुन्। स्वर्गीय पिता जीवनाथ काफ्लेको प्रेरणामा व्यवसायमा प्रवेश गरेका उनले “जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने” सोचलाई आफ्नो जीवनको मार्गदर्शन बनाएको बताउँछन्।
इट्टा उद्योगबाट सुरु भएको उनको व्यवसायिक यात्रा होटल, कृषि, पशुपालन र व्यापार क्षेत्रमा फैलिएको छ। पशुपति होटल, पशुपति लाइभस्टक एण्ड कृषि फार्म तथा पशुपति ट्रेड एण्ड सप्लायर्समार्फत उनले सयौं युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको दाबी गरिएको छ।
सामाजिक क्षेत्रमा पनि सक्रिय काफ्ले नेपाल रेडक्रस सोसाइटी इटहरीका यशस्कर सदस्य हुन्। उनी लियो क्लब अफ इटहरी सुनसरी तथा लायन्स क्लब अफ इटहरी सिटीका पूर्वअध्यक्षसमेत हुन्। विभिन्न सामाजिक, मानवीय तथा सेवामूलक अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
अध्यक्ष पदका उम्मेदवार काफ्लेले उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री र प्रभावकारी संस्था बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनका अनुसार सदस्यता नवीकरणलाई मोबाइल एपमार्फत सहज बनाइने, बैंकिङ तथा करसम्बन्धी जटिलता समाधानका लागि पहल गरिने, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गरिने र व्यवसायीका समस्या समाधानमा संघलाई थप सक्रिय बनाइनेछ।
उनले इटहरीमा रात्रिकालीन बजार सञ्चालनको अवधारणालाई पनि अघि सारेका छन्। यसबाट व्यापारिक गतिविधि विस्तार हुने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीय अर्थतन्त्र थप चलायमान बन्ने विश्वास उनले व्यक्त गरेका छन्। साथै स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने आवश्यकता रहेको उनको भनाइ छ।
घरबहाल कर, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, लगानी संरक्षण तथा नीतिगत सुधारलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका काफ्लेले उद्योग वाणिज्य संघलाई व्यवसायीको हकहितका लागि प्रभावकारी आवाज उठाउने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
व्यवसायिक अनुभव, संस्थागत नेतृत्व र स्पष्ट कार्ययोजनाका साथ चुनावी मैदानमा उत्रिएका नवराज काफ्ले आगामी नेतृत्वका लागि आफूलाई सक्षम विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्।




















