फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को महत्वपूर्ण खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलासस्थित स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाको जितका नायक कप्तान लियोनेल मेस्सी बने। उनले दुवै गोल गर्दै टोलीलाई लगातार सफलताको बाटोमा अघि बढाए।
खेलको नवौँ मिनेटमै अर्जेन्टिनाले अग्रता लिने सुनौलो अवसर पाएको थियो। मेस्सीको पेनाल्टी प्रहार अस्ट्रियाका गोलरक्षक अलेक्जेन्डर स्लागरले उत्कृष्ट बचाउ गरेपछि अर्जेन्टिनाले सुरुआती झट्का बेहोर्नुपरेको थियो।
तर त्यसपछि अर्जेन्टिनाले खेलमा निरन्तर दबाब बनायो। ३८औँ मिनेटमा फाकुन्डो मेडिनाको आकर्षक पासलाई सदुपयोग गर्दै मेस्सीले गोल गरे र टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा अस्ट्रियाले बराबरी गोलको खोजीमा केही प्रभावशाली आक्रमण गरे पनि अर्जेन्टिनाको रक्षापंक्ति र गोलरक्षक मजबुत देखिए। अस्ट्रियाका प्रयासहरू सफल हुन नसक्दा खेल अर्जेन्टिनाको नियन्त्रणमै रह्यो।
खेलको इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। उनको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले २–० को सहज जित निकाल्न सफल भयो।
यस नतिजासँगै अर्जेन्टिना एक खेल बाँकी रहँदै विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ। कप्तान मेस्सीले टोलीको सफलतामा फेरि एकपटक निर्णायक भूमिका निर्वाह गर्दै विश्व फुटबलमा आफ्नो प्रभाव कायम राखेका छन्।




















