इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा महिला नेतृत्वको विषय फेरि चर्चामा आएको छ। संघको इतिहासमा पहिलो पटक अध्यक्ष पदमा बलियो दाबेदारी प्रस्तुत गरेकी व्यवसायी गायत्री कटुवाल भण्डारीको उम्मेदवारीले व्यवसायिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय भण्डारीले स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेकी छन्। व्यवसायीहरूका अनुसार उनले इटहरीको व्यापारिक समुदायमा निरन्तर योगदान पुर्‍याउँदै आएकी छन् र संघको नेतृत्वमा महिला सहभागिता बढाउनुपर्ने आवाजलाई समेत प्रतिनिधित्व गरेकी छन्।

निर्वाचनको माहोल तात्दै जाँदा विभिन्न समूह र व्यवसायिक नेतृत्वबीच ध्रुवीकरण पनि देखिन थालेको छ। केही समयअघि भण्डारीप्रति सकारात्मक देखिएका कतिपय व्यवसायिक व्यक्तित्व तथा समूहहरू अहिले अन्य प्यानलतर्फ खुलेर लागेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

भण्डारी पक्षका समर्थकहरूले उद्योग वाणिज्य संघमा नयाँ सोच, पारदर्शी नेतृत्व र महिला सहभागिताको आवश्यकता औंल्याइरहेका छन्। उनीहरूका अनुसार नेतृत्वमा महिलाको उपस्थिति केवल प्रतिनिधित्वको विषय मात्र नभई संस्थागत रूपान्तरणको अवसर पनि हो।

यता गठबन्धनको समर्थन प्राप्त अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको टोली पनि व्यवसायिक अनुभव, संगठनात्मक क्षमता र व्यापक समर्थनका आधारमा चुनावी मैदानमा सक्रिय छ। दुवै पक्षले व्यवसायीका मुद्दालाई केन्द्रमा राखेर मत मागिरहेका छन्।

यसपटकको निर्वाचनले केवल नयाँ नेतृत्व चयन गर्ने मात्र होइन, इटहरी उद्योग वाणिज्य संघमा महिला नेतृत्वको नयाँ अध्याय सुरु हुने वा परम्परागत शक्ति संरचनाले निरन्तरता पाउने भन्ने प्रश्नको समेत जवाफ दिने व्यवसायीहरूको बुझाइ छ।

त्यसैले असार २७ को निर्वाचनलाई धेरैले इटहरीको व्यवसायिक नेतृत्वको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन्।