होमिका श्रेष्ठ
धरान । कोशी प्रदेश फुटबल सङ्घ (एन्फा) का अध्यक्ष किशोर राईले धरान रङ्गशालामा फ्लडलाइट जडान गरी आधुनिकस्तरमा स्तरोन्नति गर्ने माग सम्बोधन नभए धरानका खेलाडी र खेलप्रेमीहरू काठमाडौँसम्म पुगेर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।
धरानमा आयोजित चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’को समापन समारोहलाई सम्बोधन गर्दै राईले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका क्रममा धरान रङ्गशालालाई प्राथमिकतामा राख्न सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको बताए।
‘यदि हाम्रो माग सुनुवाइ भएन भने दशौँ गाडी मानिस लिएर काठमाडौँ पुग्छौँ र दबाबमूलक आन्दोलन गर्छौँ,’ उनले भने, ‘धरान फुटबलको उर्वर भूमि हो। यहाँ फ्लडलाइटसहितको आधुनिक रङ्गशाला निर्माण अब विकल्प होइन, आवश्यकता हो।
राईका अनुसार फ्लडलाइट जडान भएपछि धरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सहज हुने मात्र होइन, खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।
यस वर्षको सङ्घीय बजेटमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिए पनि धरानका कुनै पनि खेल पूर्वाधार योजनाको नाम उल्लेख नभएको भन्दै स्थानीय खेलकर्मीहरू असन्तुष्ट बनेका छन्। सरकारले आगामी ३ देखि ५ वर्षभित्र देशका १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरे पनि ती रङ्गशालाको सूची सार्वजनिक गरेको छैन।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बजेटमा धरानलाई फेरि उपेक्षा गरिएको गुनासो गर्दै खेलकुदको केन्द्रका रूपमा परिचित धरानलाई आवश्यक पूर्वाधार, बजेट र सरकारी सहयोगबाट वञ्चित गरिनु दुःखद भएको बताए।
‘धरानलाई खेलकुदको हब भनिए पनि वास्तविक अवस्था निराशाजनक छ,’ उनले भने, ‘खेलाडी उत्पादन र खेल विकासका लागि आवश्यक लगानी नहुँदा यहाँको खेल क्षेत्र प्रभावित बनेको छ।
सरकारले बजेटमार्फत ८ हजार दर्शक क्षमतासम्मका १० फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने, प्रमुख सहरहरूमा क्रिकेट रङ्गशाला निर्माण तथा बहुउद्देश्यीय कभर्डहल बनाउने योजना अघि सारेको छ। तर धरान रङ्गशालाको नाम नसमेटिएकाले स्थानीय खेल समुदायमा पुनः उपेक्षाको चिन्ता बढेको छ।
खेलकर्मीहरूको भनाइमा धरान रङ्गशाला पूर्वी नेपालको प्रमुख फुटबल केन्द्र भएकाले सरकारले स्तरोन्नतिका लागि प्राथमिकता दिनु आवश्यक छ।




















