इटहरी । इटहरी अस्पतालको गुणस्तर वृद्धि र विशिष्टीकृत स्वास्थ्य संस्थाको स्थापना गर्नुपर्ने इटहरीका सरोकारवालाहरूले माग गरेका छन् । इटहरीमा पछिल्लो १० वर्षमा तीव्र गतिमा जनसङ्ख्या वृद्धि भए पनि सो अनुपातमा स्वास्थ्य सेवाको विकास सुस्त भएको बारे इटहरीवासीले चिन्ता व्यक्त गरेका छन् ।
इटहरीको स्वास्थ्य भविष्य, गुणस्तरीय स्वास्थ्य सेवामा आत्मनिर्भरता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले भोग्नु परेको समस्या र भविष्यमा इटहरीको स्वास्थ्य बारे आफ्ना योजना सुनाएका छन् ।
लायन्स क्लब अफ इटहरी र ‘योगदान राष्ट्रका लागि’ संस्थाको आयोजना गरेको हो । अन्तर्क्रिया कार्यक्रममा युवा अगुवा डिल्ली आचार्यले इटहरीमा डायलाइसिस मेसिन भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । आचार्यले डायलसिस मेसिन छोपेर राख्न १५ लाख रुपैयाँ खर्च गरिएको तर सञ्चालनमा ल्याउन स्थानीय सरकारले चासो नदिइएको बताए ।
नरबहादुर कर्माचार्य पोलिटेक्निक इटहरीका अध्यक्ष निर्मल बरालले आधारभूत स्वास्थ्य सेवा तथा कतिपय औषधीहरू निःशुल्क भए पनि सबै नागरिकसम्म प्रभावकारी रूपमा नपुगेको बताए । स्थानीय नेता रमेश खत्रीले इटहरी अस्पतालको सेवा तथा व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताए । अस्पतालको एक्स–रे मेसिन बिग्रिएर लामो समयसम्म मर्मत नभएको, आधारभूत तथा स्वास्थ्य बीमाले समेटेका औषधिसमेत उपलब्ध नहुने अवस्था रहेको बताए ।
लायन्स क्लब अफ इटहरी एक्टिभका अध्यक्ष बलबहादुर न्यौपानेले इटहरी अस्पतालको भवन र सेवा क्षमता विस्तार गर्नुपर्ने बताए । अस्पतालमा रहेका उपकरणहरू प्रयोगविहीन भएर थन्किनु दुःखद भएको बताउँदै अस्पतालको सुधारका लागि सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्ने बताए ।
अन्तर्क्रिया कार्यक्रममा इटहरीको स्वास्थ्यसम्बन्धी दीर्घकालीन योजना निर्माणमा आफूहरू सक्रिय रहेको डा. खगेन्द्र ओलीले जानकारी दिए । कार्यक्रमको सुरुवातमा कार्यपत्र प्रस्तुत गर्दै उनले विगतका अभ्यास, तथ्याङ्क तथा सर्वेक्षण नतिजाको विश्लेषण र विज्ञहरूको सुझावका आधारमा दीर्घकालीन योजना बनाउने र सार्वजनिक गर्ने बताए । तयार गरिने योजनाको आधारमा स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थालाई नीति बनाउन सजिलो हुने स्पष्ट पारे ।




















