इनरुवा ब्याडमिन्टन क्लबको वार्षिक साधारणसभा सम्पन्न हुँदै नयाँ कार्यसमिति चयन गरिएको छ । मनोज थापा मगरको अध्यक्षतामा सम्पन्न साधारणसभाले भुपाल राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै क्लबलाई पुनः सक्रिय र व्यवस्थित रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।
नवगठित कार्यसमितिको अध्यक्षमा भुपाल राना मगर चयन भएका छन् भने उपाध्यक्षमा सूर्य आचार्य र सचिवमा महानन्द पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नवीन ढुङ्गाना, मौसम कोईराला लगायत ११ सदस्यीय कार्यसमिति चयन गरिएको क्लबले जनाएको छ ।
साधारणसभासँगै क्लबले अब ब्याडमिन्टन खेलको विकास, विस्तार र खेल गतिविधिलाई पुनः सक्रिय बनाउने योजना सार्वजनिक गरेको छ । केही वर्षअघिसम्म सक्रिय रहेको ब्याडमिन्टन संघ निष्क्रियजस्तै बनेपछि इनरुवामा खेल गतिविधि सुस्ताएको थियो । अब नयाँ नेतृत्वसँगै खेलकुद गतिविधिलाई संगठित र प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष भुपाल राना मगरले इनरुवामा ब्याडमिन्टन खेललाई व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाउने उद्देश्यसहित विभिन्न योजना अघि सारिएको बताए । उनका अनुसार खेल हल व्यवस्थापन, नियमित प्रशिक्षण, प्रतियोगिता आयोजना तथा नयाँ खेलाडी उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।
पहिले संघ भए पनि गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन सकेन,” अध्यक्ष राना मगरले भने, “अब नयाँ उत्साह र योजनासहित क्लबलाई सक्रिय बनाउँदै इनरुवालाई ब्याडमिन्टनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ ।
उनले आगामी दिनमा इनरुवामै प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी दिए । साथै जिल्लाका विभिन्न पालिकाबाट खेलाडीहरूलाई सहभागी गराउँदै खेललाई थप प्रतिस्पर्धात्मक बनाइने उनले बताए ।
क्लबले विद्यालयस्तरीय प्रतियोगिता, प्रशिक्षण कार्यक्रम, मैत्रीपूर्ण खेल तथा प्रतिभावान खेलाडी पहिचान अभियान सञ्चालन गर्ने तयारी समेत गरेको जनाएको छ । खेलाडीहरूलाई अभ्यासका लागि सहज वातावरण, आवश्यक पूर्वाधार र अवसर उपलब्ध गराउने लक्ष्यसहित क्लब अगाडि बढिरहेको अध्यक्ष राना मगरको भनाइ छ ।
स्थानीय खेलप्रेमीहरूले पनि लामो समयपछि ब्याडमिन्टन गतिविधि पुनः सक्रिय हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन हुन सके इनरुवाबाट उत्कृष्ट खेलाडी उत्पादन हुने र समग्र खेलकुद क्षेत्र चलायमान बन्ने विश्वास स्थानीयको छ ।




















