सुनसरी । निर्माण अनुमति प्राप्त नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक तथा निर्देशक रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस सार्वजनिक गर्दै बौद्धिक सम्पत्तिमाथि हस्तक्षेप भए कानुनी उपचार खोज्ने बताएका हुन् ।
निर्देशक रितेश जङं खत्रीका अनुसार फिल्मको लेखन तथा योजना बनाउने क्रममा केही नजिकका साथीहरूसँग कथावस्तु, पात्र र दृश्यबारे छलफल गरिएको थियो । तर हाल उनीहरू नै छुट्टाछुट्टै फिल्म निर्माण र सुटिङमा सक्रिय देखिएपछि आफ्नो सिर्जना दुरुपयोग हुन सक्ने आशंका बढेको उनको भनाइ छ ।
उनले ९ महिनाअघि चलचित्र विकास बोर्डबाट प्राप्त निर्माण इजाजतको प्रमाणसमेत सार्वजनिक गर्दै अरूको कथा वा अवधारणा अनुमति बिना प्रयोग गर्नु सिर्जना नभई चोरी भएको उल्लेख गरेका छन् । “सिर्जना मौलिक हुनुपर्छ, अरूको बौद्धिक सम्पत्तिको नक्कल गर्नु अनैतिक कार्य हो,” भन्दै उनले समान सामग्री प्रयोग भएको पाइए कानुनी बाटो अपनाइने स्पष्ट पारेका छन् ।
निर्देशक रितेश जङं खत्रीले आवश्यक परे चलचित्र विकास बोर्ड, निर्देशक समाज तथा सम्बन्धित संघ–संस्थासम्म पुगेर आफ्नो बौद्धिक अधिकारको रक्षा गर्ने बताएका छन् । साथै, विश्वासका आधारमा साझा गरिएका सामग्रीको दुरुपयोग नगर्न आफ्ना सहकर्मीहरूलाई आग्रह पनि गरेका छन् ।
इलाम–पाँचथर सीमावर्ती क्षेत्रको सामाजिक परिवेशमा आधारित फिल्म ‘वर्णशङ्कर नारदे’ले विभिन्न समुदायबीचको सम्बन्ध, सामाजिक जटिलता र पूर्वेली संस्कृति प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ । श्री परिधि फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्ममा सुवास खरेल, सम्रान्त थापा, दीपा पोखरेल लगायत कलाकारको अभिनय रहने बताइएको छ ।





















