इटहरी  । सुनसरीको इटहरीस्थित त्रियुगा होटलमा “परिवर्तनका लागि एकता” भन्ने नारासहित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्रका  अधिकार, स्वास्थ्य तथा सामाजिक सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, युवा, सामाजिक अभियन्ता तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले समाजमा भोगिरहेका समस्या, चुनौती तथा समाधानका सम्भावित उपायमाथि गम्भीर बहस सिर्जना गरेको थियो । सहभागीहरूले खुला रूपमा आफ्ना अनुभव, भावना तथा विचार प्रस्तुत गर्दै समाजमा अझै पनि विद्यमान विभेद, असमान व्यवहार र सामाजिक बहिष्करणको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।20260513_125509

कार्यक्रमको संयोजन मनिषा थापाले गरेकी थिइन् भने समोन जी.सी.ले Advocacy Officer को भूमिकामा रहेर कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै उनीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका थिए । साथै, यस्ता सचेतनामूलक कार्यक्रम विद्यालय स्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै सबै व्यक्तिलाई समान व्यवहार र सम्मान प्राप्त हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेषगरी मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR), स्वास्थ्य सेवामा पहुँच, सामाजिक विभेद तथा महिनावारीसँग सम्बन्धित समस्याका विषयमा गम्भीर छलफल गरिएको थियो । प्रस्तुतिकरणमार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्रका व्यक्तिहरूले दैनिक जीवनमा भोग्दै आएका विविध चुनौतीहरू उजागर गरिएको थियो ।20260513_121807

छलफलका क्रममा महिनावारीको समयमा LBT+ समुदायले भोग्ने असहज अवस्था, जैविक लिङ्ग र लैङ्गिक पहिचानबीचको द्वन्द्व, स्वास्थ्य सेवामा हुने असमान व्यवहार, तथा महिनावारी सामग्रीको सहज पहुँच अभावजस्ता विषयलाई प्रमुख रूपमा उठाइएको थियो । सहभागीहरूले स्वास्थ्य संस्थाहरूमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति संवेदनशील व्यवहारको कमी रहेको गुनासो गरेका थिए ।

त्यस्तै, समाजमा विद्यमान गलत सोच, हेपाहा प्रवृत्ति तथा विभेदपूर्ण व्यवहारका कारण धेरै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्रका व्यक्तिहरू मानसिक तनाव र असुरक्षाको अवस्थामा बाँच्न बाध्य भएको सहभागीहरूको भनाइ थियो । उनीहरूले समान अधिकार, सम्मान र अवसर सुनिश्चित गर्न राज्य, समाज र सरोकारवाला निकाय सबै जिम्मेवार हुनुपर्ने बताएका थिए ।20260513_115145 1

सहभागीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका क्षेत्रमा समावेशी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।  समुदायलाई केवल सहानुभूति होइन, व्यवहारिक रूपमा समान अवसर र अधिकार दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले समुदायको सशक्तीकरण, सचेतना अभिवृद्धि तथा अधिकार सुनिश्चितताका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए । उनीहरूले सामाजिक रूपान्तरणका लागि सबै समुदायबीच एकता, सहकार्य, सम्मान र समझदारी आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरूले खुलेर आफ्ना अनुभव र विचार राख्दा कार्यक्रम थप प्रभावकारी तथा अन्तरक्रियात्मक बनेको थियो । उपस्थितहरूले आगामी दिनमा यस्ता सचेतनामूलक तथा अधिकारमुखी कार्यक्रम अझ व्यापक रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।