सुनसरी । सुनसरीको इनरुवामा हातेमालो जनसरोकार संस्थाको आयोजनामा ब्याडमिन्टोन प्रतियोगिता भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने, स्वस्थ जीवनशैलीको विकास गर्ने तथा सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनिल कुमार पोखरेल सहभागी हुनुहुन्थ्यो। उहाँले खेलकुदले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाहरूमा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने बताउनुभयो।
कार्यक्रममा वडा सदस्य दुर्गा दाहाल, इनरुवा ब्याडमिन्टोन क्लब का अध्यक्ष मनोज थापा तथा क्लबका सल्लाहकार मनोज खड्का लगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले खेलकुदमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने र युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न मद्दत पुग्ने धारणा राखेका थिए।
प्रतियोगितामा विभिन्न समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको Group A तर्फ महेश चौधरी र आभाष चौधरी को जोडी विजेता बन्न सफल भयो। फाइनल खेलमा उनीहरूले उत्कृष्ट समन्वय र आक्रामक प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्। यस समूहमा श्रवण घिमिरे र ध्यानवीर राई को जोडी उपविजेतामा सीमित भयो।
त्यसैगरी Group B तर्फ किरण आचार्य र लाल बहादुर श्रेष्ठ को जोडी विजेता बनेको थियो। उनीहरूले फाइनल खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्। यस समूहमा मौसम कोइराला र बिपिन श्रेष्ठ को जोडी उपविजेतामा सीमित भयो।
प्रतियोगिताभर खेलाडीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा देखिएको थियो भने दर्शकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। खेल समापनपछि विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।
आयोजक संस्था हातेमालो जनसरोकारले आगामी दिनमा पनि यस्ता सामाजिक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रतियोगिताले इनरुवामा खेल संस्कृतिको विकाससँगै युवाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।




















