इटहरी । पूर्वी नेपालकाे निर्माणाधीन एसियन हाइवे परियोजना मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यातायात सञ्जालसँग जोड्ने महत्वाकांक्षी योजना हो। आर्थिक गतिविधि विस्तार, व्यापारिक सम्भावना वृद्धि र सहरी विकासलाई गति दिने अपेक्षा गरिएको यो परियोजना अहिले तीव्र गतिमा अघि बढिरहेको छ। तर, मोरङ जिल्लाको गोठगाउँदेखि दुलारीसम्मको खण्डमा अपनाइएको सडकको मापदण्डले भने स्थानीयस्तरमा गम्भीर बहस र चिन्ता जन्माएको छ।
उक्त खण्डमा २४ मिटर चौडाइको ‘ग्रामीण सडक’ मोडलमा निर्माण भइरहेको छ, जबकि यसअघि र पछाडिका भागहरू ५० मिटर चौडाइको ‘सहरी सडक’का रूपमा डिजाइन गरिएका छन्। एउटै राजमार्गको बीच भागमा फरक–फरक मापदण्ड अपनाइनुले योजनागत असन्तुलन मात्रै होइन, विकासप्रतिको दीर्घकालीन दृष्टिकोणमै प्रश्न उठाएको छ।
कोभेक–CREGC–टुन्डी जेभीले निर्माणको जिम्मा लिएको यस आयोजनाको कुल लागत करिब ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ। २०८० सालमा सम्झौता भएको परियोजना २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म करिब २१ प्रतिशत भौतिक प्रगति भइसकेको परियोजनामा ५० मिटर, ३३ मिटर र २४ मिटर गरी तीन फरक संरचनामा सडक निर्माण भइरहेको परियोजना व्यवस्थापक अनिश रेग्मीले जानकारी दिएका छन्।
सामान्यतया २४ मिटर चौडाइको सडक सवारी आवागमनलाई प्राथमिकता दिएर बनाइन्छ, जसमा पर्याप्त फुटपाथ, ढल निकास, हरियाली क्षेत्र, पार्किङ व्यवस्थापन तथा सर्भिस लेन जस्ता सहरी पूर्वाधारका पक्षहरू सीमित हुन्छन्। तीव्र सहरीकरण भइरहेका गछिया र आसपासका क्षेत्रका लागि यस्तो संरचना दीर्घकालीन रूपमा अनुपयुक्त हुन सक्ने स्थानीयको बुझाइ छ।
स्थानीय अगुवा देवराज तामाङका अनुसार, “आज ग्रामीण भनेर छुट्याइएको यो क्षेत्र भोलि व्यवस्थित सहरी केन्द्र बन्ने सम्भावना बोकेको ठाउँ हो। अहिलेको विकासको गति हेर्दा यहाँ २४ मिटर सडक पर्याप्त हुँदैन। भविष्यमा विस्तार गर्न खोज्दा ठूलो क्षति र अतिरिक्त खर्च बेहोर्नुपर्ने अवस्था आउन सक्छ।”
गछिया बजार व्यवस्थापन समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले पनि बजार क्षेत्रमा साँघुरो सडकले व्यापारिक गतिविधिमा प्रत्यक्ष असर पार्ने बताए। “सवारी चाप बढ्दै जाँदा पार्किङ, पैदलयात्रुको सुरक्षा र बजार व्यवस्थापन सबै प्रभावित हुन्छ। यसले गछियाको व्यापारिक सम्भावनामै असर पार्न सक्छ,” उनले भने।
यस्तै, गछिया युवा समाजका सल्लाहकार मनोज राईले डिपिआर निर्माण प्रक्रियामै प्रश्न उठाउँदै बीचको विकसित हुँदै गरेको क्षेत्रलाई ग्रामीण सडकमा सीमित गर्नुको आधारबारे स्पष्टता मागेका छन्। सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ का अध्यक्ष कैलाश बस्नेतले पनि विगतमा तयार गरिएको डिपिआरमा भविष्यको सहरी स्वरूप र आवश्यक पूर्वाधारको पर्याप्त अध्ययन नभएको स्वीकार गर्दै सम्पूर्ण खण्डमा एकरूपताका साथ ५० मिटर चौडाइको सडक निर्माण हुनुपर्नेमा जोड दिएका छन्।
स्थानीयवासीहरूको मुख्य माग भनेको समयमै डिपिआर पुनरावलोकन गरी गोठगाउँ–दुलारी खण्डलाई पनि ५० मिटरकै सहरी मापदण्डमा स्तरोन्नति गरिनु हो। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय स्तरको सडक केवल यात्रु ओसारपसारको माध्यम मात्र नभई वरपरको बस्तीको स्वरूप, बजारको भविष्य र विकासको दिशा निर्धारण गर्ने आधार हो।
योजना कार्यान्वयनमा देखिएको यस्तो असमानताले भविष्यमा गछिया क्षेत्रको विकासलाई साँघुरो र अव्यवस्थित बनाउने जोखिम बढाएको भन्दै अहिले नै सच्याउन आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।




















