इटहरी । कोशी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान तथा कलेजस्तरका खेलाडीहरूलाई उपयुक्त प्लेटफर्म प्रदान गर्ने उद्देश्यसहित इटहरी नमुना कलेजले इटहरीमा ‘नमुना सुपर कप अन्तर–स्तरिय कलेज टी–२० क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गत सिजनको कोशी प्राइड लिग (KPL) विजेता टोली नमुना ब्लाष्टरको आयोजनामा प्रतियोगिता आगामी फाल्गुन ७ गते (बुधबार)देखि १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

युवा प्रतिभा उजागर गर्ने र कलेजस्तरीय खेलकुदको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको प्रतियोगितामा पूर्वी नेपालका तीन प्रमुख जिल्ला झापा, मोरङ र सुनसरीका ८ प्रतिष्ठित कलेजका क्रिकेट टोलीहरूको सहभागिता रहने निश्चित भएको छ। टी–२० फर्म्याटमा सञ्चालन हुने प्रतियोगिताले कलेजस्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।Messenger_creation_3DF9B9C1-8D7A-43D0-8C5F-CD8741EC5ED6

चार दिनसम्म चल्ने प्रतियोगिता इटहरीस्थित ऐतिहासिक जनता पार्क क्रिकेट ग्राउण्डमा हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँ तथा ट्रफी/शिल्ड पाउनेछ।

यसका साथै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द सिरिज’, ‘बेस्ट बलर’ र ‘बेस्ट ब्याट्सम्यान’ जस्ता विभिन्न विधामा आकर्षक पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रवर्द्धन इटहरी नमुना कलेजले गरेको छ भने सुनसरी जिल्ला क्रिकेट संघको विशेष सहयोग रहनेछ। प्रतियोगितालाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउन जीके स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (GK Sports & Event Management) ले प्राविधिक सहयोग प्रदान गर्नेछ।

खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सामूहिक भावना र नेतृत्व क्षमताको विकास गर्ने विश्वास व्यक्त गर्दै आयोजकले कोशी प्रदेशलाई क्रिकेटको प्रमुख हब बनाउन प्रतियोगिता महत्वपूर्ण हुने जनाएको छ। प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, सञ्चारकर्मी, खेल संघ–संस्था तथा सरोकारवाला निकायलाई उपस्थितिका लागि हार्दिक अपिल गरिएको कार्यक्रम संयोजक गौरव कटुवालले जानकारी दिएका छन्।