झापा । पटक–पटक चुनाव आए, जनप्रतिनिधि फेरिए, तर हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीको पुल भने १४ वर्ष बितिसक्दा पनि अधुरै छ। हरेक निर्वाचनमा नेताहरूले पुल निर्माणको आश्वासन दिँदै भोट माग्ने गरे पनि पुल कहिले पूरा हुन्छ भन्ने कुनै ठोस टुंगो नलाग्दा स्थानीयवासी आक्रोशित र निराश बनेका छन्।

डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड ९ लाख रुपैयाँ लागतमा सुरु गरिएको ७२३ मिटर लामो उक्त पुलको निर्माण प्रगति हालसम्म ५६ प्रतिशत मात्र पुगेको छ। निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण सडक विभागले ठेक्का रद्द गरेपछि पुल निर्माण कहिले पुनः अघि बढ्छ भन्ने विषय थप अन्योलमा परेको छ।

पुल नबन्दा यस क्षेत्रका बासिन्दाले दैनिक आवतजावत, स्वास्थ्य सेवा, शिक्षा र व्यापार व्यवसायमा ठूलो सास्ती खेप्दै आएका छन्। यही कारण आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–४ का मतदाताको उम्मेदवारप्रति एउटै प्रश्न दोहोरिँदै आएको छ—

कन्काई पुल कहिले बन्छ  ?

नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले मतदाता भेटघाटका क्रममा पुल निर्माण नै प्रमुख विषय बन्ने गरेको बताए। “हामी उम्मेदवारले एजेन्डा राख्न नपाउँदै स्थानीयले पुलकै कुरा उठाउनु हुन्छ,” उनले भने, “विकासको दृष्टिले पछि परेको झापा–४ को समग्र विकास हाम्रो पहिलो प्राथमिकता हो।”

स्थानीय झापा गाउँपालिका–१ सितुमारीका छवि पौडेलले भने विगतका आश्वासनप्रति अब विश्वास नरहेको स्पष्ट पारे। “अब मत माग्न आउने उम्मेदवारले पहिले झैँ आश्वासन दिएर हामीलाई अल्मल्याउन सक्दैनन्,” उनले भने।

झापा–४ मा १ लाख ३० हजार ७१२ मतदाता रहेका छन्। यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

वि.सं. २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्यतः कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्र रहँदै आएको छ। विगतमा परम्परागत दल बलिया देखिए पनि पछिल्ला वर्षहरूमा नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ।

वि.सं. २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको वर्चस्व कायम रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीलगायत वैकल्पिक दलहरूको उपस्थितिले यसपटकको चुनावी समीकरण झन् रोचक बनेको छ। फागुन २१ पछि झापा–४ मा परम्परागत राजनीतिक शक्ति दोहोरिन्छ वा नयाँ राजनीतिक धार उदाउँछ भन्ने टुंगो लाग्नेछ।