काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको समय नजिकिँदै गर्दा आगामी संसद् बैठक कहाँ सञ्चालन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । झन्डै दुई दशकदेखि संसदीय अभ्यासको केन्द्र बनेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगबाहिर पुगेपछि संसद् सचिवालय र सरकार दुबै विकल्पको खोजीमा छन् ।

दोस्रो जनआन्दोलनपछि २०६४ सालमा भएको ६०१ सदस्यीय संविधान सभाको निर्वाचनपछि सिंहदरबारभित्र पर्याप्त क्षमताको भवन नहुँदा चिनियाँ सहयोगमा निर्माण भएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनका रूपमा प्रयोग गरिएको थियो । त्यही भवनबाट राजतन्त्र अन्त्यको घोषणा भयो, संविधान सभाका बैठक च्लयो र २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरियो ।

संविधान जारी भएपछि पनि संघीय संसद्—प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक सोही भवनमा सञ्चालन हुँदै आएका थिए । तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भवनमा क्षति पुगेपछि अब त्यो पुनः संसद् भवनका रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ । संसद् सचिवालयले वार्षिक करिब १५ करोड रुपैयाँ भाडा तिर्दै आएको उक्त भवनसँगको सम्झौता गत असोजमै अन्त्य भइसकेको छ ।617089256_876795428401859_8455333155011298246_n

यसैबीच, सरकारले २०७६ सालदेखि सिंहदरबार परिसरभित्र अत्याधुनिक संसद् भवन निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार २०७९ मै सम्पन्न हुनुपर्ने भवन कोभिड–१९,का कारण देखाउदै निर्माण सामग्रीको अभाव र ठेकदारको ढिलासुस्तीका कारण समयमै तयार हुन सकेन । पछिल्लो पटक २०८२ भित्रै हस्तान्तरण गर्ने गरी म्याद थप गरिएको थियो।

निर्वाचनपछि चैतको पहिलो साताबाट संसद् अधिवेशन सुरु गर्ने तयारी भइरहेका बेला संसद् सचिवालयले निर्माणाधीन सिंहदरबारस्थित नयाँ संसद् भवनमै बैठक सञ्चालन गर्ने विकल्पमा तयारी थालेको छ । यस विषयमा सरकारसँग गम्भीर छलफल भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।