सुनसरी ।
इटहरीमा सम्पन्न तेस्रो संस्करणको अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीकै विश्वआदर्श कलेजले आफ्नो नाममा लेखाएको छ। शनिबार जनता क्रिकेट खेल मैदानमा भएको फाइनल खेलमा विश्वआदर्शले नमुना कलेजलाई ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रनको प्रतिस्पर्धी योगफल तयार गर्‍यो। टोलीका लागि रोहन शाहले सर्वाधिक ३७ रनको योगदान दिए भने आकाश सर्राफले ३०, समीर तिम्सिनाले २५, आयुष ढुङ्गेलले १३ र रोशन खत्रीले १२ रन जोडे। नमुना कलेजका तर्फबाट सुबित मेहताले ३ विकेट लिँदा राजु विकले २ विकेट हात पारे।

जवाफमा १ सय ५९ रनको लक्ष्य पछ्याएको नमुना कलेज १८ ओभरमै १ सय ७ रनमा अलआउट भयो। नमुनाका बिपन शाहले सर्वाधिक ४७ रन बनाए। राजु विकले १८ र कृष्ण विष्टले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। विश्वआदर्शका अनिश कुँवरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने रोहन शाह र समीर तिम्सिनाले समान २–२ विकेट झारे।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ विश्वआदर्शका अनिश कुँवर घोषित भए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वआदर्शका कप्तान भूपाल लुइँटेल ‘सर्वोत्कृष्ट खेलाडी’ बने। अनिश कुँवर ‘बेस्ट बलर’ र रोशन खत्री ‘बेस्ट ब्याटर’ घोषित भए।

उपाधिसँगै विश्वआदर्श कलेजले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता नमुना कलेजले नगद १५ हजार रुपैयाँमा चित्त बुझायो।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, विश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल, कोसी प्रिमियर लिग विजेता नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने लगायतले पुरस्कार वितरण गरे।

इटहरी आदर्श जाइन्ट्सको आयोजनामा पुस १९ गतेदेखि सञ्चालन भएको यस प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेज टिमको सहभागिता रहेको थियो।