5f2baa0b-fa60-4082-9d06-e4c3f14501ec231c36ad-5df6-4f55-84d6-f2e4ab391201इटहरीमा जारी तेस्रो इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन्। आज भएको पहिलो खेलमा विश्व आदर्श कलेजले शुस्मा गोदावरी कलेज, इटहरीलाई १९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्श कलेजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३३ रनको विशाल योगफल तयार गर्‍यो। टोलीका लागि सकुशल श्रेष्ठले ६२ बलमा शानदार १२० रनको शतकीय पारी खेले। साथै रोशन खत्रीले ३९ रन र आकाश सराफले १४ रनजोडे। बलिङतर्फ शुस्मा गोदावरीका रोशन पुरीले २ विकेट तथा सागर डोटेलले १ विकेट लिए।

२३४ रनको कठिन लक्ष्य पछ्याउने क्रममा शुस्मा गोदावरी कलेज १३ ओभर २ बलमै ४० रनमा अलआउट भयो। टोलीका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका कारण सकुशल श्रेष्ठ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

आजकै दोस्रो खेलमा महेन्द्र मोरङ कलेज, विराटनगरले पुर्बान्चल इन्जिनियरिङ कलेज, धरानलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको पुर्बान्चल कलेज १७ ओभरमै १२२ रनमा सीमित भयो। पुर्बान्चलका लागि कासिम सन्जेलले ४९ रन र निशल कर्णाले ११ रनबनाए। बलिङतर्फ महेन्द्र मोरङका अखिलेश कोइरालाले ३ विकेटप्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट, तथा सागर मोचीले १ विकेट लिए। 

१२३ रनको लक्ष्य पछ्याउँदै महेन्द्र मोरङ कलेजले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका लागि अटल शाहले ५२ रनसागर मोचीले ३५ रन र बियुश बस्नेतले १० रन योगदान दिए। पुर्बान्चलतर्फ कासिम सन्जेल, अजित अटल, रुपेश भट्टराई र ज्ञानेन्द्र प्रसाद यादवले समान १–१ विकेट लिए। यस खेलका म्यान अफ द म्याच अटल शाह घोषित भए।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेज सहभागी छन्। प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको छ। आयोजक इटहरी आदर्श जाइन्ट्सका अनुसार प्रतियोगिताले कोशी प्रदेशका कलेजबीच क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई पनि प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।