इटहरी — इटहरीमा जारी तेस्रो अन्तर–कलेज टि–२० क्रिकेट प्रतियोगितामा आज खेलिएका तेस्रो र चौथो खेलबाट सुस्मा गोदावरी कलेज र विराटनगरको कान्तिपुर कलेज विजयी भएका छन्।

तेस्रो खेलमा इटहरीकै सुस्मा गोदावरी कलेजले कस्तुरी कलेजलाई ६१ रनले पराजित गर्दै अंक तालिकामा मजबुत उपस्थिती जनायो। टस हारेर पहिले ब्याटिङ गरेको सुस्माले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन जोड्यो। कृष्ण सिवाकोटीको अविजित ४७ रन र अनिल बस्नेतको अविजित ४३ रनको इनिङ सुस्माको जितको आधार बन्यो। कस्तुरीतर्फ यस्वन्त मेहता र अर्पन अधिकारीले समान १–१ विकेट लिए।

जवाफमा १४० रनको लक्ष्य पछ्याएको कस्तुरी कलेज पुरा ओभर खेले पनि ७ विकेट गुमाउँदै ७८ रनमै सीमित रह्यो। यस्वन्त मेहताले सर्वाधिक २३ रन बनाए भने अमन मिश्राले १५ रन जोडे। सुस्माका स्वर्णिम कडेल, जेम्स सेञ्चुरी र सागर डोटेलको बलिङ आक्रमण प्रभावकारी रह्यो।

मौसम प्रतिकूलताका कारण २० ओभरबाट घटाएर १६ ओभरमा खेलाइएको चौथो खेलमा विराटनगरको कान्तिपुर कलेजले जनता स्कुल इटहरीमाथि २५ रनको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको कान्तिपुरले सबै विकेट गुमाउँदै १ सय १८ रन बनायो। निश्चल गुप्ताले ४९ रनको उत्कृष्ट इनिङ खेलेर प्लेयर अफ दि म्याच बने। मनु दास र जयप्रकाश यादवले पनि उपयोगी रन जोडे। जनता स्कुलका एसान खानले ४ विकेट लिए।

१ सय १९ रनको लक्ष्य पछ्याएको जनता स्कुल ९३ रनमै अलआउट भयो। अंकित दासले २७ रन र प्रशान्त नेपालले १९ रनको योगदान दिए। कान्तिपुरका खेमराज हमालले २ विकेट लिँदा अन्य बलरहरूले पनि नियमित विकेट झारे।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज सहभागी छन्। प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताले कलेजस्तरका क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक वातावरणलाई मजबुत बनाउने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सले जनाएको छ।