इटहरी । विघटित प्रतिनिधि सभाका सांसद तथा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुखसमेत रहेका नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् । घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने चर्चा छ ।

उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको जनाएका छन्।

‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो। देश प्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो’ उनले लेखेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’