सुनसरी–२ बाट नवयुवा नेता प्रविन दाहाल प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस
सुनसरी । नेपाली कम्युनिष्ट पार्टीले सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट युवा नेता प्रविन दाहाललाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक जना जेन–जी उम्मेदवार अघि सार्ने निर्णयका आधारमा गठित कार्यदलको २०८२ मङ्सिर ११ गते बसेको बैठकले दाहाललाई प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टी जिल्ला समिति सुनसरीले आगामी २०८२ फाल्गुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय समितिमा पठाएको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक सिफारिस सूचीअनुसार सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट रामकुमारी चौधरी (रोजिना), एकचन्द्र बराल (निर्मल), डम्मरु सुवेदी (हिमाल), गोविन्द प्रसाद निरौला र प्रविन दाहाल नवयुवा सिफारिस भएका छन् ।
पार्टीका अनुसार सुनसरी निर्वाचन क्षेत्र नं. १, ३ र ४ का लागि पनि विभिन्न नेताहरूको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । पार्टी नेतृत्वले यसपटक अनुभवी नेतृत्वसँगै नयाँ पुस्तालाई अघि बढाउने रणनीतिअनुसार उम्मेदवार सिफारिस गरिएको जनाएको छ ।
को हुन् प्रविन दाहाल ?
प्रविन दाहाल त्रिभुवन विश्वविद्यालयबाट एमबीएस अध्ययन पूरा गरेका युवा नेता हुन् । हाल उनी अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् भने महेन्द्र बहुमुखी क्याम्पस, धरानमा एलएलबी अध्ययन गरिरहेका छन् । शैक्षिक पृष्ठभूमिसँगै उनी विद्यार्थी आन्दोलनबाट उदाएका सक्रिय युवा नेताका रूपमा परिचित छन् ।
दाहालले त्रिभुवन विश्वविद्यालयमा भएका शैक्षिक सुधारसम्बन्धी आन्दोलनहरूमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । डिजिटल युगमा समेत विद्यार्थीहरूले ट्रान्सक्रिप्ट लिन महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि गरिएको आन्दोलनमा उनको नेतृत्व महत्वपूर्ण मानिन्छ ।
उनकै पहल र दबाबपछि परीक्षा नियन्त्रण कार्यालयले गत चैत महिनाको अन्त्यदेखि अनलाइन प्रणालीमार्फत ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गरेको थियो। यसपछि पहिले महिनौँ लाग्ने प्रक्रिया अहिले १० देखि १५ दिनमै सम्पन्न हुन थालेको छ ।
त्यस्तै, इयर ग्याप र ओभरल्यापिङका कारण पास भइसकेका विद्यार्थीले ट्रान्सक्रिप्ट नपाउने समस्या पनि समाधान भएको छ । साथै, फिजिक्स विषयको पहिलो सेमेस्टरमा कुनै विषयमा बि माइनस वा सोभन्दा कम अङ्क आएमा थेसिस गर्न नपाउने प्रावधान हटाइएपछि सबै विद्यार्थीलाई थेसिस गर्ने अधिकार सुनिश्चित भएको छ । यी सुधारहरूलाई विद्यार्थी आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
समर्थक उत्साहित, पार्टीभित्र सकारात्मक सन्देश
विद्यार्थीको हकहितका लागि निरन्तर सङ्घर्ष गर्दै आएका दाहाल प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस भएपछि उनका समर्थकहरू उत्साहित भएका छन्। विशेषगरी युवा पुस्ताले उनको उम्मेदवारीलाई परिवर्तन, सुशासन र नयाँ सोचको प्रतिनिधित्वका रूपमा हेरेका छन् ।
पार्टीभित्र पनि प्रविन दाहाललाई सुनसरी निर्वाचन क्षेत्र नं.२ मा नयाँ पुस्ताको आवाज बोकेर अघि बढ्न सक्ने सक्षम र ऊर्जावान उम्मेदवारका रूपमा हेरिएको छ । केन्द्रीय समितिको अन्तिम निर्णयपछि उनको उम्मेदवारी थप औपचारिक हुने भए पनि हालको सिफारिसलाई राजनीतिक वृत्तमा महत्वपूर्ण संकेतका रूपमा लिइएको छ ।




















