काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताएका छन् । सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न भने सिफारिस गरेको स्वीकारोक्ति उनले गरे ।
आज सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले लेखेको सिफारिसको भाषा पनि सुनाएका थिए । त्यसमा कतै पनि सुशीलाको नाम नभएको उनको दावी छ ।
उनले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाणा देखाउन चुनौति दिए ।
उनले भने, ‘मैले लेखेको भाषामा सुशीला कार्की कतै सुन्नुभयोरु यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने कुनै छैन। मैले लेखेको पत्र राष्ट्रपतिकोमा छ त । मसँग चाहिँ छैन। कुनै बेला निस्किएला नि।’
ओलीले सुशीलाको सरकार संवैधानिक नभएको दोहोर्याए ।
उनले भने, ‘यो अन्तरिम सरकार संविधान अन्तरगत बनेको होइन । एउटा हल्ला छ । अस्ति प्रचण्डजीले भयानक झूट बोल्नुभो । केपी जीले सुशीलालाई सिफारिस गरेको मसित कागज छ, प्रमाण छ भन्नुभो । राष्ट्रपतिले कसैको सिफारिसबिना काम गर्न गाह्रो हुन्छ, मलाई उपयुक्त निकास निकाल्नका लागि सिफारिस गर्नुस भन्नुभयो । मैले हुन्छ भनेँ । राष्ट्रपतिले आधिकारिक व्यक्तिको सिफारिसबिना केही गर्नु वाञ्छनीय हुँदैन र उहाँ कार्यकारी होइन । संविधान अनुसार हातमा लिनु हुँदैन । तर जटिल अवस्थामा मैले सिफारिस गर्दिनु वाञ्छनीय हुन्छ भन्ने लाग्यो ।
मेरो सिफारिसको भाषा नोट गर्नुभए पनि हुन्छ, मोबाइलमा रेकर्ड गर्नुभए पनि हुन्छ । मेरो भाषा के छ भने– वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु ।
प्रचण्डले मलाई निकै माया गर्नुहुन्छ । उहाँले मसित प्रमाण छ, केपीले सुशीलालाई सिफारिस गरेको भन्नुभयो । त्यो प्रमाण फ्ल्यास गरिदिनुभए हुन्छ । निक अन्योल राखिराख्ने । निकालिदिए भयो नि त ।




















