जापान : युवा समाजसेवि तथा ब्यवसायी विपिन श्रेष्ठ हालै सम्पन्न गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, जापानको निर्वाचनमा केन्द्रीय सदस्य २०२५–२०२७ का लागि मनोनित भएका छन्।
करीब दुई साताअघि सम्पन्न निर्वाचनमा श्रेष्ठ सुरुमा कान्तो क्षेत्रीय सचिव पदका उम्मेदवारका रूपमा प्रस्तुत भएका थिए। तर, विभिन्न कारण र सहमतिको वातावरणलाई प्राथमिकता दिँदै अन्ततः उनले केन्द्रीय सदस्यको जिम्मेवारी लिन सहमति जनाए। यसअघि पनि संघभित्रका विविध गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ यसपटक केन्द्रीय तहमा पुग्न सफल भएका हुन्।
निर्वाचनपश्चात् श्रेष्ठले आफूलाई विश्वास, माया र समर्थन गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद प्रकट गर्दै, पदाधिकारी, कार्यसमिति तथा सहयोगी सबैप्रति विशेष आभार व्यक्त गरे। उनले आफ्नो कार्यकालमा संस्थाको हित र प्रवासी नेपालीहरूको हकहितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए।
श्रेष्ठका अनुसार NRNA जस्तो साझा मञ्चलाई अझ सबल, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा आफू सक्रिय रहनेछन्। विशेषगरी जापानमा रहेका नेपालीहरूको सीप विकास, विद्यार्थी तथा श्रमिकका समस्या समाधान, आपतकालीन सहयोग र नेपालप्रति योगदान पुर्याउने गतिविधिलाई प्राथमिकता दिने उनको भनाइ छ।
युवापुस्तामाझ लोकप्रिय रहेका श्रेष्ठ सामाजिक सेवा, उद्धार तथा समुदायलाई एकताबद्ध गर्ने कार्यमा लामो समयदेखि सक्रिय छन्। पूर्वी नेपालको मोरङ जिल्ला, बेलबारी नगरपालिका–२ घर भएका उनी जापानमा मात्र नभई नेपालकै विभिन्न संघ–संस्थामा समेत निरन्तर योगदान दिँदै आएका छन्।




















