काठमाडौँ ।  सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले क्याम्पस प्रमुखसहितलाई हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले नै नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प पारेको छ। भक्तपुर चाँगुनारायणस्थित उक्त क्याम्पसमा ६ दिनदेखि पठनपाठन ठप्प छ। 

क्याम्पस प्रशासनले सुरक्षा व्यवस्था नभएसम्म क्याम्पस सञ्चालनमा नआउने अडान लिएका छन् भने हातपात गर्ने विद्यार्थी नेताहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग छ। यसबारे भक्तपुर प्रहरी परिसरमा उजुरी परिसकेको छ। 

क्याम्पस प्रशासनका अनुसार असार २४ गते नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाई अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मालाई हातपात र दुर्व्यवहार गरेका थिए।

क्याम्पसमा खेलकुद क्रियाकलाप सञ्चालन गर्ने विषयमा असन्तुष्ट थापाले क्याम्पसका गैर विद्यार्थी देउजालाई बोलाएर कुटपिट गराएको क्याम्पस प्रमुख भण्डारीले बताए। उनले उक्त दिनको घटनाबारे भक्तपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत जानकारी गराएको बताए।

सत्तारुढ कांग्रेस निकट विद्यार्थी कुटपिटमा संलग्न भएकाले प्रहरी, प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउन आलटाल गरेको शिक्षक, कर्मचारीले गुनासो गरे । ‘दोषीलाई कारबाही र शान्ति सुरक्षाको प्रबन्ध नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने भनेर शिक्षक, कर्मचारीले लिखित रूपमै माग गर्नु भएको छ,’ क्याम्पस प्रमुख भण्डारीले भने, ‘प्रहरीकै सामुन्ने क्याम्पसभित्र छिरेर कुटपिट र दुर्व्यवहार हुँदा पनि दोषीलाई कारबाही भएको छैन ।’


क्याम्पसकाअनुसार १६ वटा विद्यार्थी संगठनको सहमतिमा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो । उक्त सहमतिमा नेविसंघका अध्यक्ष थापाले असहमति जनाएपछि विवाद थालनी भएको थियो । उनीसँग छलफल गर्दै गर्दा देउजा प्रवेश गरी ३ जनामाथि हातपात र दुर्व्यवहार गरेका क्याम्पसले भक्तपुर प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

असार २२ गते नेविसंघले सोही विषयमा लगाएको ताला अन्य विद्यार्थी संगठनले फुटाई दिएपछि छलफल गर्न बस्दा कुटपिट भएको क्याम्पस प्रमुख भण्डारीले बताए । ‘छलफल हुँदै थियो । एक्कासी मलाई पनि हानेँ। क्याम्पस प्रमुख र प्रशासन प्रमुखलाई पनि हातपात गरे। सामान्य चोट लागेको छ,’ उनले भने, ‘प्रहरीले नै उनीहरूलाई क्याम्पसबाट बाहिर निकालेको थियो ।’

घटना भएको ५ दिनसम्म दोषीलाई कारबाही नभएको क्याम्पसमा शिक्षक र कर्मचारीले भने असन्तुष्टि जनाएका छन्। असुरक्षित महसुस गरेका कारण कक्षा सञ्चालन गर्न नसकेको उनीहरूको भनाइ छ । ुअमानवीय, अनैतिक व्यवहारले कलेज सञ्चालनमा मानसिक डर त्रास उत्पन्न भएकाले कलेज बन्द गरिएको जानकारी गराउँदै घटनाका दोषी उपर आवश्यक कानुनी कारबाही गरी कलेज सञ्चालनको वातावरण बनाइदिन अनुरोध छ,’ क्याम्पस प्रशासनले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ ।

शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको जिऊ ज्यानको सुरक्षा समेत उपलब्ध गराइदिनु हुनु पत्रमा आग्रह गरिएको छ । असार २४ देखि २८ गतेसम्म खेलकुद सप्ताह सञ्चालनको तयारी क्याम्पसले गरेको थियो । घटना पछि खेलकुदको कार्यक्रम पनि सञ्चालन हुन सकेन भने सोही दिनदेखि पठनपाठन समेत बन्द भएको हो ।

भक्तपुरका प्रजिअ पाण्डेले सुरक्षाको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए । ‘क्याम्पसको निवेदन आएको थियो । प्रहरीलाई पटाइसकेका छौँ,’ उनले भने, ‘असुरक्षाको कारणले क्याम्पस बन्द गराएर बस्न मिल्दैन । सुरक्षा मिलाउने काम प्रशासनले गर्छ।’ कुटपिट भएको र क्याम्पस बन्द रहेको विषय भने थाहा नभएको उनले बताए ।

 नेविसंघ इकाई अध्यक्ष थापाले सामान्य विवाद मात्रै भएको र कुटपिट नगरिएको दाबी गरे ।  क्याम्पस प्रशासनले अन्य विद्यार्थी लगाएर माग पूरा नहुँदै नेविसंघले लगाएको ताला फुटायो । त्यही विषयमा चर्काचर्की भएको हो  ।