इटहरी । दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौड प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । आयोजक तरहरा रनले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेको हो । गत फागुन २४ गते तरहरामा १० किलोमिटर दौड प्रतियोगिता भएको थियो ।जसमा दुई हजार एक सय ९ जना सहभागी भएको जानकारी दिइएमो छ ।आयोजक क्लबका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार यसपटकको दौड प्रतियोगितामा नौ लाख ८९ हजार ३९९ रुपैयाँ फाइदा भएको छ । जसमध्ये सात लाख १५ हजार ३४७ रुपैयाँ भने उठ्न बाँकी रहेको छ ।
हाल बैँक खातामा तीन लाख ५७ हजार १६ रुपैयाँ रहेको र जसमध्ये एक लाख ५६ हजार एक सय रुपैयाँ तिर्न बाँकी रहेको अध्यक्ष राईले बताए । हालसम्म जम्मा १३ लाख ३५ हजार ६५३ रुपैयाँ उठेको र तिर्न बाँकी रहेको रकम तिर्दा १२ लाख ६२ हजार पाँच सय १७ रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । खासगरी क्बलले खेलाडी उत्पादनलाई जोड दिएको छ । हरेक शनिबार स्कुले विद्यार्थीलाई दौडमा सहभागी गराउँदै आएको र दौडमा प्रोत्साहित गर्दै आएको क्लबले जनाएको छ । दौड पूरा गर्ने सबै खेलाडीलाई मेडल प्रदान गरियो भने विजेताहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।




















