विराटनगर । अनुगमन सम्पन्न भएर भुक्तानीका लागि लेखा शाखामा पुगेका फाइल नगर प्रमुख हर्क साम्पाङले लगेपछि धरानमा उपभोक्ताहरू र ठेक्कामा लागेको योजनाको भुक्तानीमा समस्या भएको छ ।
नगर प्रमुख हर्क साम्पाङले ४० भन्दा बढी योजनाको फाइल फर फराक गर्ने समयमा लगेका हुन् । धरान उप महानगर पालिका लेखा शाखाका अनुसार १० करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने फाइल साम्पाङले लगेछन् ।
उप प्रमुख आइन्द्र विक्रम बेघाले अनुगमन गरी सकेर भुक्तानी पक्रियामा गएका फाइल नगर प्रमुख साम्पाङले लेखा शाखाबाट उठाएर लगाएका हुन् । उप प्रमुख बेघाले मेयर अपहरण शैलीमा प असार १६ गते लेखा शाखाबाट फाइल खोसेर लगेको बताए । उनले भने,‘उक्त फायलहरू योजना सम्पन्न भई लेखा प्रक्रिया पुरा गरी भुक्तानी गर्ने बेलामा लेखा शाखाबाट प्रमुख साम्पाङले ‘अपहरण’ शैलीमा लानु भएको छ । मेयर फाइल लगेपछि भुक्तानी प्रक्रिया रोकिएको छ ।
उपप्रमुख बेघाले नगर प्रमुख आफै तोक आदेश लेखेर प्रमुख प्रशासकीय अधिकृतले सम्झौता र टिप्पणी उठाएर योजनाहरूको अनुगमन भई सकेर लेखा शाखा पुगेको फाइल खोसेर लगेका बताए । नगरप्रमुखले सङ्घ, प्रदेशको सशर्त अनुदान, समपूरक अनुदान र सडक बोर्ड सँग सम्बन्धित योजनाको फाइले खोसेर आफैसँग राखेका छन् ।
धरानमा श्रमदानका नाममा उपभोक्ता समिति बनाएर फर फराकको लागि बिल आएपछि मेयर र उप मेयरका बिचमा विवाद उत्पन्न भएको छ । श्रमदानको नाममा सरोकारवाला भन्दा बाहिरका व्यक्तिहरूको उपभोक्ता समिति बनाएर बिल आएपछि उप प्रमुखले अनुगमन गर्न नमानेपछि मेयर साम्पाङ्गका समर्थकहरूले उप मेयर बेघामाथि हातपातको प्रयास गरेको थिए ।
सो विवाद पछि मेयर साम्पाङले धरान उप महानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईलाई स्पष्टीकरण सोधेका छन् । मेयरले सोधेको स्पष्टीकरणको जवाफ चौलागाईले दिएका छैनन् ।
फर फराक गर्न कार्यपालिका सदस्यको माग
धरान उप महानगरपालिकामा रहेका बहुमत कार्यपालिका सदस्यले मेयरले खोसेर लगेका फाइलको फर फराक हुनु पर्ने माग राख्दै मेयर सामु ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघा सहित २९ जना कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङलाई कार्यकक्षमा लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख साम्पाङले फायल हेर्ने अधिकार आफ्नो पनि भएको बताए । उनले भने,‘मैले पनि फायल हेर्न पाउनु पर्छ । भुक्तानी दिने अधिकार नगरप्रमुख र उपप्रमुख सहित कुनै पनि जनप्रतिनिधिको होइन । ’
उनले भुक्तानी दिने भए सबैको दिनु पर्ने बताए । उनले भने, धरान–१६ को फायल प्रमुख प्रशासकीय अधिकृतले किन रोक्यो रु त्यसको जवाफ चाहियो मलाई ।’
धरान १६ मा रहेको बहुभाषिक पाठशालामा खोलाले कटान गरिरहेको बेला श्रमदान गरी उपभोक्ता समिति मार्फत बिल र भरपाई लगिएको थियो । प्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको र उत्तर दिएपछि मात्रै भुक्तानीको पक्रिया अगाडी बढने बताए ।




















