इटहरी — इटहरी ६, सङ्गीत चौकस्थित इडिङ्गो होटलबाट सट्टेबाजी खेलाउँदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएर बुधबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा इटहरी २० का ३० वर्षीय रञ्जित (राजेन्द्र थापा मगर), इटहरी ४ का ३२ वर्षीय सरोज कार्की, र इटहरी ९ का ४१ वर्षीय अमित (किरण श्रेष्ठ) रहेका छन्। उनीहरू होटलमा बसेर विद्युतीय एपमार्फत सट्टेबाजी सञ्चालन गरिरहेका बेला पक्राउ परेका हुन्।
प्रहरीले सट्टेबाजीका लागि प्रयोग गरिएका उपकरण र "वान एक्स बेट" एप पनि बरामद गरेको छ। उक्त एपमार्फत सट्टेबाजी खेल्न, खेलाउन, रकम जम्मा गर्न र झिक्न सकिने प्रमाण भेटिएको छ।
सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी छ।




















