सुनसरी । १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा यूथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लबबीच शनिबार फाइनल खेल हुँदैछ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सगरमाथा यूथ क्लबले धरान फुटबल क्लबलाई १-० ले हराउँदै उपाधि यात्रा तय गर्‍यो। इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सगरमाथाका कुलदिप कार्की खेलका नायक बने। उनले खेलको २९औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए।

२६औँ मिनेटमा धरानका विक्रम धिमालले सगरमाथाका सुशील राईलाई डी-बक्समा लडाएपछि रेफ्री कविन व्यञ्जनकारले पेनाल्टी दिएका थिए। उक्त निर्णयप्रति धरानका खेलाडी तथा प्रशिक्षकले असन्तुष्टि जनाउँदै विरोध गरेपछि केहीबेर खेल अबरुद्धसमेत भएको थियो। तर, अन्ततः कुलदिपको गोल नै सगरमाथाको फाइनल यात्राका लागि पर्याप्त बन्यो। खेलको म्यान अफ दि म्याच घोषित भएका कुलदिपले नगद १० हजार पुरस्कार पाए।

यसअघि नै मछिन्द्र फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई ३-१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनल स्थान सुरक्षित गरिसकेको छ।

शनिबार दिउँसो २ बजे हुने उपाधि भिडन्तबारे आयोजक राष्ट्रिय जागृति क्लबका खेल संयोजक अनुरोध थापाले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले नगद १० लाख, जबकि उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन्।