इटहरी/ चर्चित धर्मगुरु श्री निवासाचार्य पक्राउ परेका छन् । उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्री निवासलाई सुनसरी बाट  केन्द्रीय अनुसन्धान  ब्युरो र क्षेत्रीय अनुसन्धान ब्युरो रिटको टोलीले पक्राउ गरेको हो ।

श्रीनिवासले  १ साता अघि हातमा नांगो खुकुरी बोकेर गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । हिन्दुको बिरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तीजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । 

श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए । ‘केही कुरा बझनुनर्पे भएकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितको लागि बोलाइएको हो,’ उनले भने, ‘थप अनुसन्धानपछि मात्र अरु विषयमा भन्न सकिन्छ । अहिलेलाई मैले यति नै भने । प्रहरी स्रोतका अनुसार उनलाई आज सुनसरीमा राखेर भोलि धनुषा पठाइनेछ ।

सुनसरीको बराह नगरपालिका स्थित आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए । नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय आएका छन् । केहि समय अगाडि सुनसरीको धरानमा चलेको जातीय तथा धार्मिक विवादलाई पनि भड्काउन श्रीनिवासले प्रयास गरेका थिए । धरानमा चर्च र मन्दिरको विवादमा उनले चर्च भत्काउने धम्की दिएका थिए । उनले हिन्दुमाथि अपमान भए बाबरी मस्जिदको घटना दोहोरिने चेतावनी दिएका थिए । धरानका मेयर हर्क साम्पाङ ख्रिष्टियन भएको भन्दै उनले धरानमा धर्मयुद्ध हुने धम्की दिएका थिए ।