राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताउनुभएको छ ।

राप्रपाले मंगलवार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत,वर्तमान र भविष्य विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताउनु भयो ।

उहाँले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङदेनले नेपालले देश–देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाउनु भयो । उहाँले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताउनु भयो । उहाँले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित  र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको अरोप लगाउनु भयो । उहाँले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न,चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताउनु भयो । उहाँले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भिर परिस्थिति निम्त्याइरहेको बताउनु भयो ।

उहाँले नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने,लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने हुन आवश्यक रहेको बताउनु भयो ।