विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुन अझै सकेको छैन । हिंजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो । मतदानपछि निर्वाचन कमिटी पदाधिकारी तथा उम्मेद्वारहरु थाकेको भन्दै दिउँसो १ बजेपछि मतगणना गर्ने सहमति भएको थियो ।

तर, एक बजेसम्ममा पनि आवश्यक तयारी नभएको भन्दै मतगणनाका लागि समयसीमा चार बजेलाई सारिएको छ । ‘आजै मतगणना सुरु हुन्छ,’ एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले भने, ‘साथीहरु आउने क्रम जारी छ, मतगणनास्थलको व्यवस्थापन भइरहेको छ ।’ अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो । मतगणनाका लागि ७ स्थान बनाइने न्यौपानेले बताए । रातभर भएको मतदानमा ९७७ मत खसेको छ । अधिवेसनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेद्वार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ । विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानु परेको हो । अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ ।

त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिनदेखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।