राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताउनुभएको छ ।  शुक्रवार काठमाडौंमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुको आन्दोलन कसैलाई बिस्थापित गर्नको लागि नभएको पनि बताउनु भयो ।

उहाँले देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताउनु भयो । लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उहाँको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलन कसैलाई बिस्थापित गर्नको लागि पनि होइन । वास्तवमा देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले अहिलेको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा त परै जाओस् । सामान्य सुधार गर्न पनि तयार नभएको कारणले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ । तेस्रो जनआन्दोलनको तयारी गरिरहेका छाँै । डेढ दशकदेखि राज्य सत्तामा कब्जा जमाएर बसेका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएका छन् । देश धार्मिक, सांस्कृतिक, द्वन्द्वमा फस्न लागिरहेको छ ।

नेपाल भ्रष्टाचार गर्ने देशहरुमध्ये सबैभन्दा बढी भ्रष्ट राष्ट्रको रुपमा चिनिन थालेको छ । विदेशी प्रभाव र हस्तक्षेप तिब्र रुपले बढेको छ । लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेका छन् । देशको यो दर्दनाक अवस्थालाई हेर्दा हाम्रो जनजीवन त चलायमान नै छ, तर अलिकति गहिराईमा हेर्ने हो भने हाम्रो राष्ट्रिय अस्तित्वको धरोहर नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौम सत्ताको जालो बिस्तारै बिस्तारै मक्किँदै गएको छ । धमिरा लागेको अवस्थामा पुगेको छ ।

कुनैपनि बेला दुर्घटनामा परेर देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा देखिरहेको छ । हामीले यो देशको दुर्दशालाई हेर्न एकदिनमात्रै केही घण्टामात्रै त्रिभुवन विमानस्थलमा गएर हेर्ने हो भने सहजै देख्नसक्छौँ ।’

उहाँले भन्नुभयो, ‘म चेतावनीका साथ भन्न चाहन्छु । यदी सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरियो भने अब नेपाली जनता चुप लागेर बस्ने छैनन् । धरानको घटना, सर्लाहीको घटना र देशका अन्य भागमा र मधेस तराईमा केही समय यता हिन्दुहरुमाथि संगठित रुपले आक्रमण गर्ने प्रयास भइरहेको छ ।पहाडमा धर्म परिवर्तनको डढेलो लगाइसके । म भ्रष्ट शासकहरुलाई अनुरोध गर्न चाहन्छु । तपाईहरुले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने अब हिन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर बस्दैनन् । हामीले धेरै सही सकेका छौँ । हाम्रै घरअघि धर्म परिवर्तन हुँदा पनि चुप लागेर बसेका छौँ । सहकार्य गरेर बसेका छौँ । यसलाई हिन्दुहरुको कमजोरी नठानियोस् । जिस्काउने काम कसैले नगरोस् ।’ अध्यक्ष थापाले हिन्दुहरु सधैँ चुप लागेर बस्छन् भन्ने नठान्न चेतावनी दिनुभयो ।