काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरे पछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो । संसद अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन ।