काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सहमति बिना नै सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा संसदको गतिरोध हटाउने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देबराज घिमिरे,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।  उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने माग एमालेले राख्दै आएको छ । तर बैठकमा एमालेको मागप्रति सत्तारुढदलले सहमति नजनाएपछि बैठक बिना सहमति टुंगिएको हो । एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।

गृहमन्त्रीलाई सुन प्रकरण सम्बन्धी जवाफ दिन र सांसदहरुले पनि आ–आफना निर्वाचन क्षेत्रका समस्या राख्नका लागि आजको बैठक सूचारु गराउन आफूहरु तयार भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । उहाँले गृहमन्त्रीको जवाफमा सो तस्करी छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउने प्रतिवद्धता नआए आफूहरुले संसदमा फेरी कुरा उठाउने पनि स्पष्ट पारे । 

यता, सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सो तस्करीबारे सिआईवीको अनुसन्धानको निष्कर्ष पर्खने र त्यसले पनि अनुसन्धानलाई निष्कर्षमा नपु¥याए अरु संयन्त्र बनाउने विषयमा प्रधानमन्त्री पनि सहमत हुनु भएको जानकारी दिए। बैठकमा एमालेले भने सरकारले आफ्नो पार्टीलाई गलाउने र प्रतिपक्षबीचनै फाटो ल्याउने नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । एमालेले छानबिन समितिको माग गर्दै साउन १० गते यताका संसद बैठकमा अवरोध गर्दै आएको छ ।