इटहरी–धरान सडकखण्डस्थित चारकोसे जंगलमा रहेको सेउती पुल नजिकै गत साउन ५ गते विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको थियो ।

हत्यामा संलग्न तीनमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआईजी राजेशनाथ बास्तोलाका अनुसार पक्राउ पर्नेहरूमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङ रहेका छन् ।

पक्राउ परेका मध्ये दीपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए ।होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूहमध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको बास्तोलाले जानकारी दिए ।‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरिरहेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भने, ‘रोहित र किशोरी सेउती पुलको जङ्गल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जङ्गल भागेको देखिएको छ ।’

उनीहरू यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरूमाथि १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।