धार्मिक पर्यटकीय स्थलको विकासमा स्थानीय टोलबासी सक्रिय भएर लागेका छन् ।प्रत्येक शनिवार श्रमदान गरेर आफ्नो स्थानको विकास गर्ने उद्देश्य लिएका धरान १४ विजयपुरबासीले सेउती खोलाबाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि तटबन्द निर्माण, जलाधार क्षेत्रको संरक्षण अभियानसँगै सडक स्तरोन्नतिमा केन्द्रित भएका छन् ।

धरान ४ र ५ जोड्ने सेउती खोलामा अहिलेसम्म पुल निर्माण हुन सकेको छैन भने बाटो समेत जीर्ण रहेको छ । यसैलाई मध्यनजर स्थानीहरुले श्रमदानलाई व्यापकता दिएका हुन् । विगतमा समेत सडक स्तरोन्नतिमा आफै झम्पल र गैती बोकेर श्रमदान गरेका स्थानीयहरु अहिले पनि सडक छेउछाउमा भएका झाडीहरु सफा गर्ने कामलाई निरन्तता दिँदै आएका छन् । कृषि पकेटक्षेत्र रहेको ४ र ५ बाट अत्याधिक कृषि सामाग्री यही बाटो भएर धरान भित्रिने गर्छ । धरानमा डेंगुको संक्रमण बढ्दै गएकोले डेंगु नियन्त्रणसागै आफ्नो ठाउँ आफै बनाउनुपर्छ भन्ने अभिप्रायले सडकका छेउमा रहेको झाडी सरसफाइ गरेको स्थानीयहरु बताउँछन् ।


यो अभियानमा १४ का विभिन्न संस्थाहरु लागेका छन् । विशेष गरेर जनश्रमदानमा याखा समितिले बढी पहल गर्दै आएको छ । याख्खा समितिको भिजन अनुसार १४ नं. वडा समितिले सहयोग गरेको याख्खा समितिका अध्यक्ष निरकुमार राई बताउछन ।

धरान आएका १ सय जना पर्यटकमध्ये ६० जना पर्यटक धरानको विजयपुरका धार्मिक क्षेत्रमा आउने गरेका छन् । साउनको महिना बोलबमको महिना भएकोले पिण्डेश्वर मन्दिरमा अत्याधिक भक्तजन आउने गरेका छन् । त्यसबाहेक बुढासुब्बा, दन्तकाली, पञ्चकन्या, पाथीभरा लगायतका मन्दिरमा पनि उत्तिकै भक्तजन आउने भएकोले विजयपुरसँग अन्य ठाउँलाई जोड्न सके अझ पर्यटक थपिने उनीहरुको बुझाई छ ।