राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय डोजर लगाएर भत्काउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले घर खाली नगरिए डोजर लगाउनुको विकल्प नभएको बताए ।

राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले नगर प्रहरीले माइकिङ गरेर गए पनि महानगरबाट कुनै लिखित सूचना वा पत्र नआएको बताए । ‘के कारणले भवन खाली गर्नुपर्ने हो भन्ने हामीलाई कुनै आधिकारिक जानकारी दिनुभएको छैन । हामीले लिखित पत्र मागेका छौं । तर, महानगरबाट कुनै रेस्पोन्स भएको छैन’, उनले भने ।

स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन स्वयंले महानगरका प्रमुख बालेन्द्र शाहसँग कुरा गर्न खोजे पनि सफल भएका छैनन् । अस्ति लिङदेनले गरेको फोन बालेनले रिसिभ गरेनन् भने म्यासेजको पनि रिप्लाइ गरेनन् ।

नगर प्रहरी प्रमुख पाण्डेले हाइटेन्सनमुनि निर्माण भएकाले घर भत्काउनुपर्ने बताए । राप्रपाले भने घर खाली गर्न कुनै तयारी गरेको छैन । पार्टीभित्र यो विषयमा औपचारिक छलफल नभएको मुख्य सचिव अधिकारी बताउँछन् ।धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्सापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर–जग्गा प्रयोग गर्न दिएका थिए । मुख्य सचिव अधिकारीका अनुसार नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि गरिएको छैन । यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ । घरमा डोजर चल्नबाट रोक्न अदालत गएर अन्तरिम आदेश ल्याउने विकल्प छ ।

राप्रपाको नाममा घर नभएकाले घरधनीहरुले नै यसका लागि निवेदन दिनुपर्ने हुन्छ तर, घरधनीहरुले चासो नदिँदा कतै उनीहरु आफैं घर खाली गराउन चाहिरहेका छन् कि भन्ने आंशमा पैदा भएको एक नेताले बताए ।