विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सहमति निकाल्ने प्रयास भएको छ ।  नेपाली कांग्रेस र माओवादी केन्द्र कोसीका सभामुख गौतमलाई राजीनामा गराएर निकास खोज्ने प्रयास गर्ने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दुई दलका नेताबीच  छलफल भएको जनाइएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अगाडि सार्ने कुरामा सहमति बन्न बाँकी रहेको नेताहरूको भनाइ छ । यी विषयबारे टुंगो लगाउने फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । ९३ सदस्यीय प्रदेशमा सरकार गठनका लागि बहुमत संख्या ४७ आवश्यक पर्छ । प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ ।