प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको बताएका छन् ।

इटाली भ्रमणबाट स्वदेश फर्केपछि विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट भएको, नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र बङ्गलादेशबीचको सहकार्यलगायत विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

उनले भने, ‘बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न चाहान्छ । आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ । त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदैछ । बङ्गलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।’

प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत बङ्गलादेशमा निर्यात गर्ने सहमति समेत भएको थियो ।