धरान ।  पछिल्लो समयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आउने डेंगुका विरामीहरुको संख्या वढी रहेको तर्फ मध्यनजर गर्दै प्रतिष्ठानले छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ ।

सुनसरी साथै अन्य जिल्लाहरुबाट समेत उपचारका लागि आउने डेंगुका विरामीहरुको संख्या बढी रहेको तर्फ मध्यनजर गर्दै सहज उपचारका लागि प्रतिष्ठान हातामा रहेको कोभिड अस्पालमा  ३०  वेडको छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको हो । डेंगुका विरामीहरुको संख्या वढी रहेको तर्फ मध्यनजर गर्दै प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा गत असार २९ गते देखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि छुट्टै डेंगु क्लिनिक संचालनमा ल्याइएको थियो । आकस्मिक कक्षमा उपचारका लागि आउने विरामीहरुमा डेंगुका विरामीको चाप अत्याधिक वृद्धि भईरहेकोले विरामीलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने उद्धेश्यले छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको प्रतिष्ठानका सह प्रवक्ता  डा.चुरामणी पोखरेलले जानकारी दिएका हुन । डेंगुका सिकिस्त विरामीहरुलाई आई.सि.यू., इमर्जेन्सी र आवश्यकता अनुसार  अन्य वार्डहरुमा राखेर उपचार गरिने समेत जनाइएको छ ।

प्रतिष्ठानमा श्रावण ७ गते सम्म डेंगुको परिक्षण गरिएका ८ सय १९ जना मध्ये  ६सय १५जना डेंगुको संक्रमण पुष्टि भएको छ ।