पछिल्लो समयमा पशुहरुमा प्रकोपकै रुपमा  देखा परिरहेको लम्पि स्कीनका कारण सुनसरीमा मात्र तीन सय वढी पशुहरु मरिसकेका छन । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीले जिल्लामा ३ सय ७२ पशुहरुको लम्पि स्कीनका कारण मृत्यु भई सकेको तथा १७ हजार ८ सय ८६ पशुहरु संक्रमित रहेको जानकारी दिएको हो । पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमार सिंह खत्रीले टेलिफोनमा कुराकानी गर्दै सुनसरीका ७० प्रतिशत गोठहरुमा लम्पि स्कीन संक्रमण देखा परिसकेको र फैलन नदिनका लागि आफुहरुले खोप लगाउने अभियान सञ्चालन गर्दै आएको समेत वताए । उनले पशुसेवा विज्ञ केन्द्रमा उपचारका लागि ल्याएका लम्पि स्कीन संक्रमण भएका पशुहरुलाई निशुल्क उपचार सेवा समेत प्रदान गर्दै आएको समेत जानकारी दिए । आफुहरुले पालेका पशुहरुमा लम्पि स्कीन देखिन थालेपछि किसानहरु भने चिन्तित बन्न थालेका छन ।

लम्पि स्कीन फैलन नदिन पशुसेवा विज्ञ केन्दले  जिल्लामा हाल सम्म ५ हजार ४सय ७५ पशुहरुलाई खोप लगाइ सकेको छ भने थप खोपहरु समेत लगाउने अभियान जारी राखेको जनाइएको  छ । त्यसै गरी स्थानीय सरकारसंग समेत समन्वय गरेर खोप लगाउने तथा निशुल्क उपचार गर्ने व्यवस्था समेत पशुसेवा विज्ञ केन्द्र सुनसरीले गर्दै आएको छ ।