धरान उपमहानगरपालिकामा डेंगु संक्रमण तीव्र रुपमा बढेको छ । दिनकै १०० भन्दा बढीमा मानिसमा संक्रमण देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थाहरु बिरामीले भरिन थालेका छन् । वीपी प्रतिष्ठानसमेत अस्तव्यस्त हुन थालेको छ भने अहिलेसम्म संक्रमित संख्या २ हजार नाघिसकेको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा १०० वटा मात्र बेड छ तर अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुन थालेका छन् ।यो साल मात्रै १७४ जनालाई वार्ड वा आईसीयूमा भर्ना गरेर उपचार गरिसकिएको छ । केही दिनयता गम्भीर प्रकृतिका बिरामी बढ्दो रहेको अस्पतालले जनाएको छ । 

डेंगु संक्रमणको कारण यो वर्ष १७ वडा की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ ।गत वर्ष धरानमा फाट्टफुट्ट मात्रै डेंगु संक्रमण देखिएको थियो तर, यो वर्ष भने प्रकोपको रूप लिइसकेको छ ।  धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार २० वटै वडामा संक्रमण फैलिएको छ ।