जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ उनले भने, यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ।

मुुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन।