जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैं हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राई लगायतले यातना दिएको भिडियो सार्वजनिक भएको हो । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालय भित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको थियो । महोत्तरीको जलेश्वर नगरपालिका–८ फुल हट्टाका रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो । हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।

प्रहरी निरीक्षक राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारको सल्लाह अनुसार पीडित रायले प्रहरी निरीक्षक राईसँग गुनासो गर्दै आएका थिए । प्रहरी जवान रायलाई यातना नदिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्रराज पाण्डेले दाबी गरे । साथै घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले छानबिन गरिरहेको उनले जानकारी दिए ।