धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । सर्च एण्ड डिस्ट्रोय अभियान अन्तर्गत घर घरमा पुगेर सचेनात्मक कार्यक्रम गरेको बताएका छन ।

पानी जम्ने ठाउँमा डेंगु संक्रमण बढी भएपनि धेरै सर्वसाधारणले हेलचेक्र्याई गरेको पाइएको स्वास्थ्यकर्मीको ठहर छ । घरमा पानी सञ्चय गरेर राखेका भाडा, घरपरि परि रहेका खाल्डाखुल्डी, बासमा जमेको पानी, बाहिर राखेको टायरभित्र जमेको पानीभित्र डेंगुका लार्भा भेटेर नष्ट गरिएको जनाइएको छ । 

मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानर्मा  संक्रमण बढ्र्दै गएको पाइएको छ । डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । चिकित्सकका अनुसार डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट लाग्ने गर्छ । डेंगु भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने गर्छ । सावधानी अपनाउन सकेमात्र यो संक्रमणबाट बच्न सकिने चिकित्सकहरुको भनाइृ छ ।